काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्रथामिकतामा राखेको छ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८४–०८५ को बजेट सार्वजनिक गर्दै यो उल्लेख गरेको हो ।
‘फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्धन, शहरी स्वास्थ्य प्रवर्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उद्यम कार्य क्रमलाई प्रवद्र्धन गरी रोजगारी र आय वृद्धी गर्ने कार्यक्रमहरुलाई उच्च प्राथामिकतामा राखिएको छ,’ प्रस्तावित बजेटमा भनिएको छ, ‘त्यसैगरी काठमाडौँ महानगरपालिका क्षेत्रभित्र प्रदुषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व बोकेका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, वहाः वही, ननी लगायतका सम्पदा स्थलहरुको संरक्षण कार्य एवम् मूर्त तथा अमूर्त संस्कृतिको संरक्षण र प्रवर्धनमा समेत आवश्यक वजेट व्यवस्थापन गरिएको छ ।’
यसैगरी महानगरपालिकाले आगामी आर्थिक वर्षमा युवा केन्द्रीत स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने कुरालाई पनि बजेटमा उल्लेख गरेको छ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८४–०८५ को बजेटमा यो उल्लेख गर्नुभएको हो । ‘यसका लागि १० करोड रुपैया विनियोजन गरिएको छ ।
त्यसैगरी नवयुवा सहकार्य र कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । जेन्जी सहिद तथा अमर प्रहरीको नामावली सहितको स्मारक निर्माण गर्न बजेट व्यवस्था गरिएको छ,’ डंगोलले प्रस्ताव गरेको बजेटमा भनिएको छ, ‘अपाङ्गता भएका व्यक्ति, अशक्त तथा उमेरको कारण हिड्डुल गर्न नसक्ने महानगरवासीका लागि सम्बन्धित निकायसँग समन्वय गरी घरघर मै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।’
यस्तै महानगरपालिकाले महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैया विनियोजन गरको छ ।
‘बहालमा लिएदिएको घरजग्गाको विवरण दर्ता प्रक्रियालाई सरल र सहज बनाउने कार्यक्रम, एकीकृत करदाता परिचय पत्र कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ,’ डंगालले भन्नुभयो, ‘करदातालाई शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ । महानगरवासीहरुले मालपोत तथा नापी कार्यालयबाट प्राप्त गरी आएका भूमी व्यवस्थापन सेवा स्थानीयस्तरबाटै उपलव्ध गराउने प्रबन्ध मिलाइएको छ ।’
त्यसैगरी बजेटमा सामुहिक आवास निर्माणको लागि बहुवर्षिय योजना अन्तर्गत निर्माणको पहिलो वर्षको लागि ५ करोड विनियोजन गरिएको छ । स्ववासी समस्या समाधान गर्न विशेष कार्यक्रम सञ्चालनका लागि वित्तीय प्रबन्ध गरिएको बजेटमा उल्लेख छ ।
‘महानगर अस्पताल निर्माणको बहुवर्षिय योजना अन्तर्गत अस्पताल निर्माणको पहिलो वर्षका लागि ४ करोड रुपैया विनियोजन गरिएको छ । टोलटोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ,’ डंगोलले प्रस्तुत गरेको बजेटमा भनिएको छ, ‘ज्येष्ठ नागरिक निमोनिया खोपको लागि १ करोड रुपैया विनियोजन गरिएको छ । क्यान्सर जस्ता असाध्य रोगहरुको निदानको लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको छ । एकिकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र स्थापनार्थ रु। २ करोड रकम विनियोजन गरिएको छ ।’
निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइएको, स्वनिगः विश्वविद्यालय स्थापनाको लागि कानुनी तथा आवश्यक व्यवस्थापकीय कार्य प्रारम्भ गर्न ५० लाख रुपैया छुट्याइएको पनि बजेटमा उल्लेख छ ।






