साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौँ ।कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ।

किसानलाई राहत हुने गरी धानबालीका लागि आवश्यक थप मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो।

सरकार–सरकार (जिटुजी) सम्झौताअन्तर्गत भारतबाट आयात हुन लागेको ३० हजार मेट्रिकटन युरिया मल साउनको दोस्रो सातासम्म नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत विभिन्न मुलुकबाट एक लाख ८० हजार मेट्रिकटन रासायनिक मल आयात गरिनेछ। यसमध्ये ६० हजार मेट्रिकटन डीएपी र एक लाख २० हजार मेट्रिकटन युरिया रहेको छ।

मन्त्रालयका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता प्रभावित भए पनि किसानलाई राहत पुग्ने गरी मल आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ। यस वर्ष हालसम्मकै सबैभन्दा बढी रासायनिक मल आयात गर्ने लक्ष्य सरकारले लिएको छ।

स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा बिहान ७:०० बजेदेखि साँझ ७:०० बजेसम्म सञ्चालन हुने हटलाइन नम्बर ९७०००९९११३ वा क्यूआर कोड मार्फत गुनासो दर्ता गर्न मन्त्रालयले आग्रह गरेको छ।