असोज २९, इलाम ।
कोरोना महामारीले सबै क्षेत्रसँगै पर्यटन पनि अस्तव्यस्त छ । यस क्षेत्रमा कोरोनाका कारण सिर्जित लकडाउनले झनै गाह्रो बनायो ।
बाह्रैमास पर्यटक आगमन हुने र पर्यटकको सेवाबाटै जीवन चल्ने पर्यटकलाई यसै कारण समस्या भयो । गएको चैत पहिलो साताबाट बन्द भएका यहाँस्थित सूर्योदय नगरपालिकास्थित अन्तुका व्यवसायीलाई पनि यही पीडा परेको छ ।
दैनिक सयभन्दा बढी पर्यटक घुम्ने यो क्षेत्रमा करिब छ महिना पर्यटकको पाइला परेन । तर, अहिले केही पर्यटक आउन थालेका छन् ।
अन्तु घुम्नका लागि पर्यटक त आउन थालेका छन् तर यहाँका व्यवसायीले डराइ डराइ पर्यटकलाई स्वागत गर्नुपरिरहेको छ । गएको असोज १ बाट यहाँका घरवास (होमस्टे) खुलेका हुन् ।
यसैले विशेषगरी झापा, मोरङ, सुनसरी क्षेत्रका पर्यटकको बाक्लो चहलपहल छ । तर, देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले यस क्षेत्रमा कोरोनाको जोखिम बढेको पर्यटन व्यवसायीको भनाइ छ ।
लामो समय शून्यता छाएकाले होमस्टे खुलाए पनि थप जोखिम बढ्ने सम्भावना रहेकाले समस्या थपिएको पर्यटन व्यवसायी रुद्र घिमिरेको भनाइ छ । ‘पर्यटकको बाक्लो उपस्थिति छ, त्यसैले समस्या थपिएको पनि छ ।’
घिमिरेका अनुसार कोरोनालाई मध्यनजर गर्दै अन्तुमा नयाँ मापदण्ड पनि बनाइएको छ । अन्तुमा बास बसेर फर्किने जाने पर्यटकलाई स्वागत र बिदा गर्दा फूलको गुच्छा दिने चलन हटाइएको छ भने पर्यटक आउनेबित्तिकै अनिवार्य स्यानिटाइजर प्रयोग गर्नुपर्ने व्यवस्था बनाइएको छ ।
यस्तै, भौतिक दूरी कायम गर्नुपर्ने, धेरै जना पर्यटक आउन नपाइनेसमेत व्यवस्था छ भने तर यी नियम पूर्णरूपमा कार्यान्वयनमा ल्याउन सकिएको छैन । अन्तुमा मात्र होइन, जिल्लाका अन्य पर्यटकीय क्षेत्रको हविगत पनि अन्तुको भन्दा फरक छैन ।
कोरोनाले पर्यटकीय क्षेत्रमध्ये पनि होटलमा सबैभन्दा बढी नोक्सानी परेको छ । यसैले यो लगानी उठाउनै पनि अहिले होटल खुलेका छन् । यद्यपी कोरोनाको जोखिमले गर्दा खोल्नु वा बन्द गर्नुको स्थितिमा होटल व्यवसायी पुगेको उनीहरू सुनाउँछन् ।
‘नयाँ मापदण्ड पालना गरेर खोल्यौँ । तर कार्यान्वयनमा समस्या भएकाले जटिल भएको छ’, होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौड्यालले भने, ‘पर्यटक इलाम आउन चाहनुहुन्थ्यो । ल्याउने व्यवस्था पनि गरियो तर समस्या बढ्यो ।’
ठूलो घाटा बोहेरिसकेपछि जोखिम मोलेरै अगाडि बढ्न होटल सञ्चालनमा ल्याइएको अध्यक्ष पौड्यालको भनाइ छ । कोरोनाका कारण जिल्लाका ६० ठूला होटलमा प्रतिदिन रु ४० हजारका दरले, मझौला २०० होटलमा प्रतिदिन रु २० हजार र साना १९० होटलमा रु छ हजार घाटा भएको बताएका छन् ।
यस्तै, ठूला होटलबाट ६ हजार, मझौलाबाट एक हजार दुई सय र साना होटलबाट पाँच सय ७० जना कामदार बेरोजगार रहेको तथ्याङ्क छ ।
गएको वर्ष जिल्लामा एक लाख ६३ हजार पर्यटक भित्रिएकामा यस वर्ष दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको तर सिजनमै बन्द भएपछि एकतिहाइ पर्यटक नभित्रिने पर्यटक व्यवसायीको गुनासो छ ।







