काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन निरन्तर बढिरहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को जनवरीदेखि जुनसम्म छ लाख २० हजार ४५३ विदेशी पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको सोही अवधिको पाँच लाख ७७ हजार ६८९ पर्यटकको तुलनामा करिब ७.४ प्रतिशतले बढी हो ।
बोर्डका अनुसार अन्तरराष्ट्रिय हवाई उडान विस्तार, नेपालप्रतिको बढ्दो आकर्षण तथा पर्यटन गतिविधिमा आएको सुधारका कारण पर्यटक आगमनमा वृद्धि भएको हो ।
तथ्याङ्कअनुसार सन् २०२६ को जनवरीमा ९२ हजार ५७३, फेब्रुअरीमा एक लाख पाँच हजार ४१४, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४, मेमा एक लाख दुई हजार ६२६ र जुनमा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल आएका छन् ।
जुन महिनामा मात्रै ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको जुन महिनाको ७६ हजार ४२५ को तुलनामा १९.५ प्रतिशतले बढी हो। सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ विदेशी पर्यटक नेपाल आएका थिए ।
क्षेत्रगत रूपमा हेर्दा जुन महिनामा सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो । भारतबाट मात्रै ४१ हजार ८०९ पर्यटक नेपाल आएका छन् ।
अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हो । चीनबाट आठ हजार ८७५, जापानबाट दुई हजार ४९७, दक्षिण कोरियाबाट एक हजार ७६५ र थाइल्यान्डबाट ९८४ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
युरोपेली मुलुकमध्ये बेलायतबाट दुई हजार ५००, जर्मनीबाट ५५७ र फ्रान्सबाट ५०२ पर्यटक नेपाल आएका छन् ।
अमेरिका महादेशबाट अमेरिकाका ११ हजार ८३६, क्यानडाका एक हजार ११, ब्राजिलका १४० र मेक्सिकोका १३२ पर्यटक नेपाल आएका छन् ।
ओसियानिया क्षेत्रबाट जुन महिनामा तीन हजार ९० पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ५६.३५ प्रतिशत तथा सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो । यस क्षेत्रबाट अस्ट्रेलियाका दुई हजार ८९६ र न्युजिल्यान्डका १९४ पर्यटक नेपाल आएका छन् ।
त्यसैगरी, जुन महिनामा अफ्रिकाबाट २९२ तथा मध्यपूर्वबाट ६७४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।






