कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा. ऋषिराम कट्टेलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । कृषि तथा वन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. ऋषिराम कट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार खुला प्रतिस्पर्धामार्फत उपकुलपतिमा नियुक्त भएका प्रा. कट्टेलले औपचारिक रूपमा शपथ ग्रहण गरेसँगै आफ्नो कार्यभार सम्हाल्ने भएका छन्।

४५ वर्षीय प्रा. कट्टेल कृषि तथा वन विश्वविद्यालयको इतिहासमै सबैभन्दा कम उमेरमा उपकुलपति नियुक्त हुने व्यक्ति हुन्। उनी यसपटक नियुक्त भएका सात विश्वविद्यालयका उपकुलपतिमध्ये पनि सबैभन्दा कम उमेरका उपकुलपति हुन्।

लमजुङको राइनास नगरपालिका–अलकटार निवासी प्रा. कट्टेलले युरोपबाट उच्च शिक्षा हासिल गरेका छन्। उनले कृषि तथा वन विज्ञानका क्षेत्रमा अध्यापन, अनुसन्धान, शैक्षिक नेतृत्व तथा विश्वविद्यालय व्यवस्थापनमा लामो अनुभव हासिल गरेका छन्।

सरकारले खुला प्रतिस्पर्धाका आधारमा विश्वविद्यालय नेतृत्व छनोट गर्ने नीतिअनुसार कृषि तथा वन विश्वविद्यालयसहित सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको हो। प्रा. कट्टेलको नेतृत्वमा विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारले थप गति लिने अपेक्षा गरिएको छ।