काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको निधनलाई राजनीतिक आरोप–प्रत्यारोपको विषयभन्दा माथि उठेर हेर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले यो घटना एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग गाँसिएको विषय भएको उल्लेख गरेका छन्। उनका अनुसार यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई गम्भीर रूपमा झस्काउने अत्यन्तै दुःखद क्षण हो।
“यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो,” थापाले लेखेका छन्।
उनले गणेश नेपालीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ र उनीहरूको पीडामा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोच्न तथा सक्दो सहयोग गर्न सबैसँग आग्रह गरेका छन्।
थापाले विगत र वर्तमानमा कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने बताएका छन्।
यस क्रममा उनले केही गम्भीर प्रश्न पनि उठाएका छन्। “एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौं?” उनले प्रश्न गरेका छन्।
थापाले यी प्रश्नहरूको इमानदार जवाफ खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने बताएका छन्।







