काठमाडौँ । मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गर्दै नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद विश्वकर्माले घटनापछि राज्य संयन्त्रले देखाएको व्यवहार र व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरे। उनले प्रधानमन्त्री शाहले घटनाको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने धारणा राखे ।
सांसद विश्वकर्माले आत्मदाहको प्रयास गरिरहेका गणेश नेपालीको उद्धारका क्रममा सुरक्षाकर्मीबाट असंवेदनशील व्यवहार भएको आरोप लगाए। उनले घटनामा संलग्न प्रहरी तथा सम्बन्धित कर्मचारीमाथि छानबिन गरी कडा कारबाही गर्न सरकारसँग माग गरे ।
उनले आगोमा जलिरहेको अवस्थामा रहेका नेपालीलाई उद्धार गर्ने क्रममा अपनाइएको शैलीमाथि प्रश्न उठाउँदै सरकारको कार्यशैलीप्रति आपत्ति जनाए। उक्त घटनाले राज्यको संवेदनशीलता, नागरिकप्रतिको जिम्मेवारी र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो ।
विश्वकर्माले प्रशासनिक संयन्त्रबाट नागरिकसँग गरिने व्यवहार सुधार्नुपर्ने आवश्यकता औँल्याउँदै सरकार नागरिकका समस्याप्रति गम्भीर हुनुपर्ने बताए। उनका अनुसार गणेश नेपालीको मृत्युको नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ ।
राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालस्थित बर्न सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि राज्य सेवा प्रवाह, प्रशासनिक व्यवहार र नागरिक असन्तुष्टिका विषयमा राजनीतिक तथा सार्वजनिक बहस चुलिएको छ ।







