संसद्को रोस्ट्रममा उभिँदा भावुक बने गृहमन्त्री: म यहाँ स्टन्ट देखाउन होइन, देशको सेवा गर्न आएको हुँ।

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि रोस्ट्रममा पुगेका थिए।

तर, रोस्ट्रममा पुग्नेबित्तिकै उनी भावुक बने। आँखाभरि आँसु लिएर केहीबेर मौन बसेका उनी अन्ततः कुनै भनाइ नराखी रोस्ट्रमबाट फर्किएका छन्।

गृहमन्त्री सुधन गुरुङले आफू देखावटी काम (स्टन्टबाजी) गर्न नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले जनताको सेवा भाषण गरेर मात्र नभई व्यवहारमा काम गरेर देखाउनुपर्ने बताए।

उनले सांसदहरूलाई संसद्‌मा चर्को स्वरमा बोल्नु मात्र पर्याप्त नहुने भन्दै जनताको सेवाका लागि प्रत्यक्ष रूपमा काम गर्नुपर्ने धारणा राखे।

“घाँटी चिच्याएर मात्रै हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र हुँदैन। त्यो कुरा मुखले बोलेको ५० वर्ष भइसक्यो। अब हामीले हातले काम गर्नुपर्छ,” उनले भने।

गुरुङले जनताको सेवाका लागि सम्बन्धित ठाउँमै पुगेर काम गर्नुपर्ने उल्लेख गर्दै आफू कसैलाई देखाउनका लागि नभई देशको सेवा गर्ने उद्देश्यले आएको स्पष्ट पारे।

“तपाईंहरू त्यसलाई स्टन्टबाजी भन्नुहुन्छ। मलाई कसैका लागि स्टन्टबाजी गर्ने इच्छा छैन। म आफ्नो देशको सेवा गर्न आएको हुँ,” उनले भने।

उनले आफू गृहमन्त्रीको जिम्मेवारीमा रहेर आवश्यक काम कसरी अघि बढाउने भन्ने विषयमा टोली बनाएर छलफल गरिरहेको जानकारी दिए। साथै, उनले संसद्‌मा आलोचना गर्ने सांसदहरूलाई हिजो अस्पतालमा पुगेर पीडित वा बिरामीको अवस्थाबारे बुझ्न कति जना उपस्थित भएको भन्दै प्रश्न गरे।