कारभित्र लुकाई जोकवनीदेखि काठमाडौंसम्म खैरो हेरोइन ओसार्ने ३ जना पक्राउ

लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले काठमाडौं उपत्यकामा लागुऔषध भित्र्याई बिक्री–वितरण गर्ने समूहविरुद्धको अनुसन्धानका क्रममा ठूलो परिमाणमा खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ललितपुर महानगरपालिका–२९, हरिसिद्धिबाट धादिङ धुनिबेँसी नगरपालिका–९ निवासी ३८ वर्षीय अनिल श्रेष्ठ २९ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए। त्यसपछि गरिएको थप अनुसन्धानका आधारमा भारतको जोकवनी–फारबिसगञ्ज क्षेत्रबाट विराटनगर हुँदै निजी गाडीमार्फत काठमाडौंसम्म लागुऔषध ल्याई बिक्री गर्ने आरोपमा जावेद आलम (३५, मोरङ कटहरी गाउँपालिका–४) र विकास भगत (३४, सप्तरी खडक नगरपालिका–७) लाई पनि पक्राउ गरिएको हो।

उनीहरूबाट कुल २२९ ग्राम खैरो हेरोइन, एक थान डिजिटल तराजु, लागुऔषध ओसारपसारमा प्रयोग भएको बा.१७ च ८३७ नम्बरको Breeza गाडी, नगद रु. ७१,३०,००० र ४ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।