काठमाडौँ । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले एक वर्ष अवधिको निक्षेप संकलन उपकरणमार्फत सोमबार उक्त ऋणपत्र जारी गर्न लागेको हो।
राष्ट्र बैंकले बोलकबोलका लागि सोमबार दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ। बोलकबोलमा सहभागी हुने संस्थाले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन्। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोलमा सहभागी हुने संस्थाले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। ब्याजदर दशमलव पछाडि बढीमा चार अंकसम्म उल्लेख गर्न सकिनेछ।
यस उपकरणको सावाँ तथा ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार बोलकबोल ब्याजदरका आधारमा सञ्चालन हुनेछ र सहभागी संस्थाले विभिन्न ब्याजदरमा बहुबोलकबोलसमेत गर्न सक्नेछन्। उक्त उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।






