काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका डेढ दर्जनभन्दा बढी स्थानमा राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लामा यातायात प्रभावित भएको जनाएको हो।
प्रहरीका अनुसार कान्ति लोकपथअन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित पाङ्दुर, टाकुर्चे र भालुखोला क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा भने एकतर्फी रूपमा सवारी सञ्चालन सुरु गरिएको छ। यस्तै, मेची राजमार्गको इलाम नगरपालिका–९ राजदुवाली तथा मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–१, २ र ३ क्षेत्रमा यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।
बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेसी खण्डमा पनि यातायात अवरुद्ध भएको छ। त्यस्तै, कान्ति लोकपथको हेटौंडा–ठिंगन–बागमती–ललितपुर सडकखण्ड, भीमफेदी–८ भर्याङडाँडा तथा फाखेल–कुलेखानी सडकखण्डमा पनि सवारी सञ्चालन ठप्प छ।
हेटौंडा–भैँसे–भीमफेदी–देउराली–सिस्नेरी हुँदै काठमाडौं आउने–जाने सवारीसाधनको सञ्चालनमा समेत रोक लगाइएको छ।
अरनिको राजमार्गअन्तर्गत कोदारी सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
गण्डकी प्रदेशमा पोखरा–ताङतिङ भित्री सडक पहिरोका कारण बन्द भएको छ भने नयाँपुल–घान्द्रुक सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
लुम्बिनी प्रदेशअन्तर्गत अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्डमा पर्ने पाणिनि गाउँपालिका–२ ढुंग्रेखोलामा पनि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको छत्रकोट गाउँपालिका–३ काउले तथा कालिगण्डकी करिडोरको राक्से क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशमा कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बिसौनी र कालिकोटको शुभकालिका गाउँपालिकामा पनि सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ।
प्रहरीले वर्षाका कारण पहिरो खस्ने जोखिम अझै कायम रहेकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा यात्रा गर्नुपरे सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।






