मुग्लिन-नारायणगढ सडकमा सवारी चलाउन प्रशासनले लगायो रोक

काठमाडौं । निरन्तर वर्षाका कारण उत्पन्न जोखिमलाई ध्यानमा राख्दै मुग्लिन–नारायणगढ सडक खण्डमा सवारीसाधन सञ्चालन अस्थायी रूपमा रोकिएको छ।

जिल्ला प्रशासन कार्यालय, चितवनले सडकमा पहिरो र ढुंगा खस्ने जोखिम बढेकाले अर्को सूचना जारी नभएसम्म उक्त सडक खण्डमा सवारी आवागमन नगर्न आग्रह गरेको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा सडकमाथिबाट निरन्तर ढुंगा खसिरहेकाले सडक दुवैतर्फबाट अवरुद्ध भएको छ।

त्यसैगरी, सेती दोभान क्षेत्रमा माथिबाट लेदो खसेपछि सवारी आवागमन पूर्ण रूपमा प्रभावित बनेको छ।

सडक डिभिजन कार्यालय भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार सोमबार साँझ करिब ७:३० बजेदेखि निरन्तर ठूलो वर्षा भइरहेकाले पहिरो पन्छाउने कार्यसमेत प्रभावित भएको छ।