बढ्दो बहावपछि सप्तकोसी ब्यारेजका २० ढोका खुला

सुनसरी – पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा लगातार परेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ।

सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार, कोसी ब्यारेजमा हाल पानीको बहाव प्रतिक्षण एक लाख ७२ हजार ४३२ क्युसेक पुगेको छ।

पानीको बहाव वृद्धि भएसँगै सम्भावित जोखिमलाई ध्यानमा राख्दै कोसी ब्यारेजका ५२ वटा मूल ढोका र दुई वटा नहरका चार वटा ढोकासहित कुल ५६ ढोकामध्ये २० वटा ढोका खोलिएको उनले जानकारी दिए।

नदीमा पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले सतर्कताका लागि कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ। साथै, खतराको संकेतस्वरूप ब्यारेजमा रातो झण्डासमेत फहराइएको कोसी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ।