काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई कार्यालय समयमा तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।
मन्त्रालयले राष्ट्रिय सतर्कता केन्द्रको पत्रका आधारमा सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई परिपत्र जारी गर्दै राष्ट्रसेवक निजामती कर्मचारीले नेपाल सरकारले तोकेको किसिम र रङको पोसाक तथा सम्बन्धित कार्यालयबाट जारी परिचयपत्र अनिवार्य रूपमा लगाउने व्यवस्था गर्न आग्रह गरेको हो।
सार्वजनिक निकायमा कार्यरत कर्मचारीले पोसाक र परिचयपत्र प्रयोग गर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय सतर्कता केन्द्रले अनुरोध गरेपछि मन्त्रालयले सोहीअनुसार निर्देशन जारी गरेको जनाएको छ।
मन्त्रालयले कार्यालय समयमा कर्मचारीको पोसाक र परिचयपत्र प्रयोगको अनुगमन तथा कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ।








