प्रदेश सरकार फेरबदलमा सहभागी नहुने नारायणकाजी श्रेष्ठको भनाइ, वाम शक्तिको सहकार्यलाई प्राथमिकता दिने नीति

नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेश सरकार फेरबदलको पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै आफ्नो पार्टी सरकार बनाउने र ढाल्ने खेलमा सहभागी नहुने बताएका छन्।

श्रेष्ठले नेपाली कांग्रेस र नेकपा (एमाले) को निर्णयका कारण प्रदेश सरकारहरूमा फेरबदलको अवस्था आएको उल्लेख गर्दै प्रदेशसभा निर्वाचन आउन करिब एक वर्ष मात्र बाँकी रहेको अवस्थामा सरकार परिवर्तनको प्रक्रिया अवाञ्छनीय र दुःखद भएको टिप्पणी गरेका छन्।

उनले आफ्नो पार्टीले प्रदेश सरकारसम्बन्धी नीति पहिले नै स्पष्ट गरिसकेको भन्दै कांग्रेस र एमालेले बाँकी अवधि सरकार सञ्चालन गर्नुपर्ने धारणा राखे। उनका अनुसार माओवादी केन्द्र प्रदेश सरकार परिवर्तन वा सरकारमा सहभागी हुन अग्रसर हुने छैन।

श्रेष्ठले भने, “कांग्रेस र एमालेले आपसमा मिलेर यथास्थितिमा सरकार सञ्चालन गर्न नसक्ने अवस्था आएर हाम्रो पार्टीलाई समेत सरकारमा सहभागी हुन संयुक्त अनुरोध गरेमा मात्र अर्को निर्वाचनसम्मका लागि सहकार्य गरेर सरकार सञ्चालन गर्न सकिनेछ। तर यस्तो अवस्था अपवादका रूपमा मात्र स्वीकार गरिनेछ।”

उनले कांग्रेस र एमालेबीच सहकार्य असम्भव भई प्रदेशसभा विघटन तथा तत्काल निर्वाचनतर्फ जाने जोखिम उत्पन्न भएमा परिस्थितिको बाध्यताअनुसार कुनै एक पक्षसँग मिलेर सरकार गठन गर्न सकिने बताए।

श्रेष्ठले यस्तो अवस्थामा राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्रको रक्षा र नेपाली कम्युनिष्ट आन्दोलनको हितलाई केन्द्रमा राखेर कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूबीचको सहकार्यलाई प्राथमिकता दिइने बताए। वामपन्थी शक्तिविरुद्ध अन्य शक्तिसँग सहकार्य वा मोर्चा निर्माण नगर्ने नीति पार्टीले लिएको उनको भनाइ छ।

उनले पार्टीभित्र र बाहिरका सबै पक्षलाई राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रविरुद्ध हुने गतिविधिबाट सचेत रहन आग्रह गरेका छन्। बाह्य शक्तिकेन्द्रको योजना सफल हुने, राष्ट्रिय स्वाधीनतामा असर पर्ने तथा नेपाली कम्युनिष्ट आन्दोलन कमजोर हुने कुनै पनि गतिविधि हुन नदिन सबैले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने उनले बताए।

श्रेष्ठले विगतका कमजोरीबाट पाठ सिक्दै राजनीतिक निर्णयहरू सचेततापूर्वक लिनुपर्नेमा जोड दिएका छन्।