वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय, १४ जनामाथि थप कारबाही प्रक्रिया अघि बढ्दै

बिदा स्वीकृत नगराई लामो समयदेखि गैरहाजिर भई अस्ट्रेलिया बस्दै आएका पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सरकारले निजामती सेवाबाट हटाउने निर्णय गरेको छ।

कृषि, भूमि व्यवस्था तथा सहकारी (वन तथा पर्यावरण) मन्त्रालयले डा. घिमिरेमाथि विभागीय कारबाही प्रक्रिया टुंग्याउँदै निजामती सेवाबाट निष्कासन गरेको हो।

मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी लोक सेवा आयोगसँग परामर्श मागिएको थियो। आयोगबाट प्राप्त परामर्शका आधारमा ऐनको दफा ५९ को खण्ड (ख) बमोजिम ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी’ उनलाई पदबाट हटाउने निर्णय गरिएको छ।

छानबिनपछि कारबाही
डा. घिमिरे मन्त्रालय तथा विभागबाट नियमानुसार बिदा स्वीकृत नगराई अस्ट्रेलिया पुगेर बसेका थिए। लामो समयसम्म कुनै जानकारीविना कार्यालयमा अनुपस्थित रहेपछि उनको वास्तविक अवस्था र गैरहाजिरीबारे अध्ययन गर्न मन्त्रालयले विभागीय छानबिन समिति गठन गरेको थियो। समितिको प्रतिवेदन र लोक सेवा आयोगको सहमतिपछि मन्त्रालयले उनलाई सेवाबाट हटाउने अन्तिम निर्णय लिएको हो।

मन्त्रालयले कारबाहीको औपचारिक प्रक्रिया सम्पन्न गरी यसको जानकारी लोक सेवा आयोगलाई गराउन लागेको छ।

थप १४ जना कर्मचारीमाथि पनि कारबाही प्रक्रिया अघि बढाइयो
यसैबीच, बिदा स्वीकृत नगराई लामो समय गैरहाजिर रहने र बिना सूचना विदेश जाने यस्तै प्रकृतिका मुद्दामा संलग्न अन्य १४ जना कर्मचारीमाथि पनि विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको मन्त्रालय स्रोतले जनाएको छ।

प्रचलित कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुनासाथ ती कर्मचारीहरूका सम्बन्धमा पनि आवश्यक निर्णय गरिने तयारी मन्त्रालयको छ।