बर्खामा जनताका पीरमर्का सुन्दै सङ्घीय सांसद

काठमाडौं । मनसुनको हिसाबले नेपाल अहिले मध्यबर्खामा छ। सङ्घीय संसद्का दुवै सदनका बैठकहरू १५ दिनका स्थगित भएका छन्।

बैठक नभएपछि अधिकांश सांसदहरू अहिले जनतासँग पुगेर उनीहरूको समस्या सुन्ने र समाधान गर्ने काममा व्यस्त रहेका छन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यतालिका नै बनाएर आफ्ना सांसदललाई मतादातासँग भेटघाटका लागि गाउँगाउँमा पठाएको छ।

वर्षाको समय भएकाले किसान भने मुख्य धानलगायत बाली लगाउन व्यस्त छन्। गाउँ पुगेका सांसदहरूलाई जनताले विपद् जोखिम व्यवस्थापनका अतिरिक्त रासायनिक मलको आपूर्ति, बाँदर नियन्त्रणलगायत विषयलाई मुख्य समस्याका रूपमा सुनाएका छन्।

पर्याप्त सिँचाइका अभावमा किसानले अझै पनि धान रोप्न नसकिरहेको अवस्था छ भने कयौँ स्थानमा बाढी पहिरो र डुबानको जोखिमसमेत व्यहोर्नुपरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार २०८३ वैशाखदेखि हालसम्म तीन हजार ५५७ विपद्का घटनामा १७० जनाको मृत्यु र एक हजार २३ जना घाइते भएका छन्। विपद्बाट चार हजार ६९५ घरपरिवार प्रभावित भएका छन्।

प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रमुख सचेतक एवं सचेतकहरूले संसद् स्थगित भएको समयको सदुपयोग गर्दै आफूहरू विभिन्न माध्यमबाट जनताका बीचमा पुगिरहेको बताए।

‘७० प्रतिशत सांसद् गृहजिल्लामा छन्’ : प्रकाशचन्द्र परियार (सचेतक, रास्वपा)

राष्ट्रिय स्वतन्त्र पार्टीका ७० प्रतिशत सांसद अहिले गृहजिल्ला, निर्वाचन क्षेत्र र गाउँगाउँमा पुगेका छन्। निर्वाचित भएपछि जिल्ला जान नपाउनु भएका विधायक जनतासँग भेट्ने औपचारिक कार्यक्रम नै सार्वजनिक गरेर काम गरिरहेका छन्।

जनतासँग सम्पर्क, समन्वय, सहकार्यसहित अन्तक्र्रियामा छन्। वर्षात्को मौसम छ, निर्वाचन क्षेत्रमा जनताका आवाज सुन्ने, सुख दुःखमा सहभागी हुने, सरकारले गरेका निर्णय र गतिविधि प्रचारप्रसार गर्ने कार्यमा व्यस्त छन्।

जिल्ला र निर्वाचन क्षेत्रमा विकासका पूर्वाधार निर्माणका लागि विनियोजित बजेट कार्यान्वयन गर्न प्रदेश, स्थानीय तह, समुदाय र अगुवासँग रायसुझाव लिने र सहकार्य गर्ने कार्यसमेत भइरहेको छ। उनीहरू यही साउन १४ गते फर्केपछि त्यहाँ देखेको र जनताले भोगको विषय संसद्मा राख्नेछन्।

‘सांसद जनताको सुखदुःखको सारथी बन्न जिल्लामा छन्’ : वासना थापा (प्रमुख सचेतक, नेपाली कांग्रेस)

अहिले वर्षात्को समय छ। मनसुनी प्रभावका कारण प्रकृतिक प्रकोपका घटना हुनसक्छ। यो बेला जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा जनताका सुख–दुःखका कुरा उठाएर सरकारको ध्यानाकर्षण गराउन पथ्र्यो। त्यसकारण हामीले अहिले संसद् स्थगित नगरौँ, निरन्तर चलाऔँ भनेका थियौँ।

संसद् स्थगित भएपछि काठमाडौंमा बस्नुभन्दा जिल्ला नै जाऔँ भनेर केही सांसद् त्यसतर्फ गएका छन्। बालीनाली लगाउनुपर्ने भएकाले मेलापातमा व्यस्त नागरिकसँग भेटघाट गरी दुःखसुखको सारथी बनिरहेका छन्।

वर्षात्को समयमा संसद् स्थगित गर्नुहुन्थेन। यो बेला हामी जनप्रतिनिधि विपद् व्यवस्थापनको पूर्वतयारीमा बस्नपथ्र्यो ।

‘विभिन्न माध्यमबाट जनतासँग जोडिरहेका छौँ : रोशनी मेचे (सचेतक/राष्ट्रियसभा, नेकपा (एमाले))

सदनमा सांसदको भूमिका प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षण गर्ने काम भइरहेको छ। यही साउन ३ गते पार्टी केन्द्रीय कार्यालयमा एमालेले संसद्लाई प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षणसमेत दिएको थियो।

नयाँ सांसदलाई संसदीय अभ्यासका बारेमा तालिम दिनुपर्ने भएकाले कतिपय एमाले सांसद निर्वाचन क्षेत्र जान पाएको अवस्था छैन। टेलिफोनमार्फत जनतासँग जोडिने काम निरन्तर भइरहेको छ।

एमालेको सङ्गठन तल्लो तहसम्म क्रियाशील रहेको हुनाले साङ्गठनिक रूपमा जनताका बीचमा जाने काम भइरहेको छ।

आवश्यकताअनुसार सांसदहरू जिल्ला जाने र काठमाडौं फर्कनेक्रम चलिरहेको छ। संसद् नचेलेको भए पनि ‘मिनी’ संसद्का रूपमा समितिका बैठक निरन्तर भइरहेका छन्। हामी त्यसमै क्रियाशील भएर जनताको भावना उठाइरहेका छौँ।

‘ड्युटी’मा खटिएको सिपाहीको जस्तै अवस्थामा छु : युवराज दुलाल (सचेतक, नेपाली कम्युनिष्ट पार्टी (नेकपा))

राजनीतिककर्मी भएको नाताले पार्टीको आन्तरिक, साङ्गठनिक काम र जनतासँगको भेटघाट चलिरहेको छ। जिल्ला जाने र काठमाडौं आउने क्रम चलिरहेको छ।

किसानसँगको भेटघाटमा रासायनिक मल र बाँदरबाट बालीनालीमा क्षति पुर्याएको समस्या मुख्य रूपमा आएको छ। गुठी र सुकुम्बासी समस्याको विषय पनि उनीहरूले निरन्तर उठाएका छन्।

सिन्धुपाल्चोक बाढी र प्राकृतिक विपद् प्रभावित भएकाले ‘ड्युटी’मा खटिएको सिपाहीझैँ कहाँ, कतिखेर के पर्छ अनि दौडिनुपर्छ भनी ‘स्टयाण्डवाइ’ मानसिकतामै बसेको छु। विपद् हुँदा तुरुन्तै जिल्ला पुग्छु।

काठमाडौंमा हुने छलफल र बैठकमा भाग लिन तुरुन्तै यहाँ फर्कने गरेको छु। जनप्रतिनिधि हुनुका नाताले मतदातासँगको भेटघाट र अन्तक्र्रियालाई बाक्लो र नियमित बनाउनुपर्छ।

खेतीपातीको मौसम भएकाले जनता त्यसैमा व्यस्त हुनुहुन्छ, अहिले उाीहरूसँग भेटघाट र अन्तक्र्रिया गर्ने बेला होइन। विजनेस नभएपछि दुई साताका लागि सहमतिमा बैठक स्थगित भएको हो।

‘बाँदरको चौकीदारी गरिरहेका किसानसँगै छु’ : आरेन राई (प्रमुख सचेतक, श्रम संस्कृति पार्टी)

अहिले जिल्लामै छु। अझै केही समय बस्छु। यो बेला गाउँ घुम्ने होइन, जनताका समस्या संसद्मा राख्न पथ्र्यो। विपद्मा परेका जनतालाई यथाशक्य छिटो राहत दिलाउन संसद्मै कुरा उठाउनुपर्ने थियो। त्यसैले पनि सदन बन्द गर्नुहुन्थेन।

म अहिले खोटाङको सबैभन्दा विकट खोप्लाङ पुगेको छु। यहाँका बालबालिकादेखि बूढापाकासम्मका व्यक्ति बिहान रिमरिम उज्यालोमै बारीमा पुग्ने अनि साँझ बाँदर बास बसेपछि घरफर्कनुपर्ने दैनिक छ।

हरेक घरका किसान बाँदरको चौकीदार बन्नुपरेको छ। संसदले बाँदर व्यवस्थापनसम्बन्धी कानुन छिटो बनाउनुपर्यो, जनतालाई दुःख दिन भएन। यस्ता जनचासोका विषयलाई सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ उठाइ दिनुपर्छ।