चितवन। देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणउन्मुख अवस्थामा पुगेको छ। पशु सेवा विभागका अनुसार साउन १ गतेयता नयाँ सङ्क्रमण पुष्टि भएको छैन। पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा बर्डफ्लु देखिएको थियो।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले हाल सङ्क्रमण नियन्त्रणमा रहेको र प्रभावित क्षेत्र वरपरबाट नमुना संकलन गरी परीक्षण भइरहेको जानकारी दिए। उनका अनुसार नयाँ सङ्क्रमण नदेखिए पनि सतर्कताका साथ निगरानीलाई निरन्तरता दिइएको छ।
विभागका अनुसार चैत ४ गते केन्द्रीय पशु–पन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट पहिलो पटक बर्डफ्लु पुष्टि भएको थियो। त्यसपछि चैत ६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रभावित क्षेत्र घोषणा गरेको थियो।
नेपालमा पहिलो पटक मोरङको उर्लाबारी–८ र सुन्दरहरैँचा–४ मा बर्डफ्लु देखिएको थियो। यसपटक कमर्सियल लेयर्स सबैभन्दा बढी प्रभावित भएका थिए। साथै प्यारेन्ट स्टक, कमर्सियल ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा पनि सङ्क्रमण फैलिएको थियो।
हालसम्म ११ जिल्लामा बर्डफ्लु पुष्टि भएको विभागले जनाएको छ। काठमाडौं उपत्यकाबाहेकका सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने काठमाडौं उपत्यका र काभ्रेमा मात्रै ११९ स्थानमा सङ्क्रमण पुष्टि भएको थियो। काठमाडौं उपत्यकाका ९२ स्थानमध्ये काठमाडौंमा ३२, ललितपुरमा सदर चिडियाखानासहित १५ र भक्तपुरमा ४५ स्थान प्रभावित भएका थिए। काभ्रेपलाञ्चोकमा २७ स्थानमा सङ्क्रमण देखिएको थियो।
वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार सङ्क्रमण नियन्त्रणका क्रममा देशभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी, ११ लाख ६५ हजार ६६३ वटा अण्डा र दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ। काठमाडौं उपत्यका र काभ्रेमा मात्रै तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो।
प्रभावित किसानलाई राहत वितरण पनि तीव्र रूपमा अघि बढाइएको विभागले जनाएको छ। महानिर्देशक दाहालका अनुसार राहतका लागि ५२ करोड रुपैयाँ व्यवस्थापन गरिएकोमा हालसम्म १०४ जना किसान तथा फार्म सञ्चालकको खातामा ५० करोड ७१ लाख १५ हजार ७०४ रुपैयाँ निकासा भइसकेको छ।
देशभरका पशु–पन्छी रोग अन्वेषण प्रयोगशालाले परीक्षणलाई निरन्तरता दिएका छन्। सरकारी सक्रियता र किसानको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा आउन सफल भएको विभागको निष्कर्ष छ। अधिकारीहरूका अनुसार अब थप सङ्क्रमण फैलिने सम्भावना न्यून रहेको छ।
सङ्क्रमण घटेसँगै कुखुराको मासु र अण्डाको बजार पनि क्रमशः सुधार हुन थालेको छ। खपत बढेसँगै किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन्। बर्डफ्लुका कारण मूल्य घट्दा र चल्ला बिक्री हुन नसक्दा किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको थियो।







