बीमा र धितोपत्र कसूरका फरार भएका रिमाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको मुद्दामा फरार रहेका प्रतिवादी मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ।

नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका–७ निवासी रिमाललाई सीआईबीको टोलीले बिहीबार काठमाडौं महानगरपालिका–७ स्थित सिफलबाट पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी अनुपम शमशेर ज.व.राका अनुसार पक्राउ परेका रिमाललाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको छ।

सीआईबीका अनुसार बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत दर्ता भएको उक्त मुद्दामा दीपक भट्ट समेत प्रतिवादी रहेका छन्। रिमाल लामो समयदेखि फरार सूचीमा रहेका थिए।