कांग्रेस र नेकपा कर्णालीमा नयाँ सरकार गठन गर्ने गृहकार्यमा

कर्णाली । कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मुख्यमन्त्री यामलाल कँडेलको विकल्प खोज्दै नयाँ सरकार गठन गर्ने तयारी अघि बढाएका छन्।

गत असार ३१ गते सत्तासाझेदार कांग्रेसका चार मन्त्रीले प्रदेश सरकारबाट राजीनामा दिएपछि मुख्यमन्त्री कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसको भोलिपल्ट, असार ३२ गते, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्दै नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

अविश्वास प्रस्ताव दर्ता भएको एक सातापछि सभामुख नन्दा गुरुङले साउन ७ गते प्रदेशसभा बैठक बोलाएकी थिइन्। तर विशेष कारण देखाउँदै उक्त बैठक स्थगित गरिएको र अब साउन ९ गते दिउँसो ३:०० बजे बैठक बस्ने जानकारी प्रदेशसभा सचिवालयले दिएको छ।

नेकपाका नेता मंगलबहादुर शाहीले पार्टीले दर्ता गरेको अविश्वास प्रस्तावकै पक्षमा मतदान गर्दै नयाँ सरकार गठन प्रक्रियालाई अघि बढाइने बताएका छन्।

उनले भने, “हामी आफ्नै निर्णयअनुसार अघि बढ्छौँ। अब कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ। नेकपाले त्यसबाहेक अर्को विकल्प देखेको छैन, र त्यो सम्भव पनि छैन।”

कांग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले पनि नेकपासँग भएको सहमतिअनुसार नै कांग्रेसले सरकार गठनको प्रक्रिया अघि बढाएको बताए।

उनले भने, “नेकपाको समर्थनमा हाम्रो संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाउने सहमतिअनुसार हामी अघि बढेका हौँ। अब कांग्रेस–नेकपा समीकरणमा छिट्टै नयाँ सरकार गठन हुन्छ।”

हाल कर्णाली प्रदेशसभामा ४० सदस्य छन्। सरकार गठनका लागि कम्तीमा २० सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका १५ र नेकपाका १४ प्रदेशसभा सदस्य रहेका छन्। दुवै दलको संयुक्त समर्थनमा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत सहजै पुग्ने देखिएको छ।