वालेट प्रयोग गर्न पनि राष्ट्रिय परिचयपत्र आवश्यक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय वालेट (ई–वालेट) प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ।

राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनअनुसार भुक्तानी सेवा प्रदायक (PSP) संस्थाहरूले नेपाली नागरिकको वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखका आधारमा ग्राहकको विवरण प्रमाणीकरण गर्नुपर्नेछ।

यसैगरी, २०८३ असोज मसान्तभित्र सबै वालेट प्रयोगकर्ताबाट मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यममार्फत राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको सम्बन्धमा स्वघोषणा लिनुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका प्रयोगकर्ताले सोही अवधिभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ। यस्तै, अझै परिचयपत्र नलिएका नागरिकलाई परिचयपत्र बनाएर ग्राहक पहिचान (KYC) अद्यावधिक गर्न प्रत्येक महिना मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउनुपर्ने निर्देशन पनि दिइएको छ।

विदेशमा रहेका नेपाली नागरिकले अनलाइनमार्फत वालेट खोल्दा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न सक्ने व्यवस्था गरिएको छ। तर, नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित भुक्तानी सेवा प्रदायकले उनीहरूको राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरी अद्यावधिक गर्नुपर्नेछ।

त्यस्तै, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।