काठमाडौं। बुद्ध एयरले आफ्नो उडान सेवालाई अझ सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ सिरिजको अत्याधुनिक एटीआर–७२-६०० जहाज नेपाल भित्र्याएको छ। कम्पनीले फ्रान्सको तुलुसबाट शनिबार उक्त नयाँ जहाज काठमाडौँ ल्याएको हो। आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि आगामी महिनादेखि यसलाई व्यावसायिक उडानमा ल्याउने तयारी बुद्ध एयरको छ।
नयाँ जहाजमा पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट तथा उन्नत सुरक्षा प्रविधि जडान गरिएको छ। कम इन्धन खपत गर्ने यो जहाज अघिल्ला सिरिजका जहाजको तुलनामा वातावरणमैत्री हुनुका साथै कम ध्वनि प्रदूषण गर्ने प्रकृतिको रहेको कम्पनीले जनाएको छ।
यस जहाजको मुख्य विशेषता यसमा रहेको ‘आरएनपी–एआर’ (नेभिगेसन कार्यसम्पादन–विशेष स्वीकृती आवश्यक) एप्रोच प्रणाली हो। यो प्रविधिको मद्दतले काठमाडौँ र भैरहवा विमानस्थलमा भिजिबिलिटी घटेर करिब ९०० मिटरसम्म पुग्दा पनि जहाज सुरक्षित रूपमा अवतरण गर्न सकिनेछ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यो प्रणाली लागू गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन अघि बढाएको छ। नयाँ प्रविधिले खराब मौसम र कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ तथा रद्द हुने समस्यालाई न्यूनीकरण गर्दै सेवाको विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ।
बुद्ध एयरले आगामी अगस्टको अन्त्य वा सेप्टेम्बरको सुरुवातसम्ममा अर्को एटीआर-७२-६०० भित्र्याउने र आउँदा केही महिनाभित्र यही सिरिजका थप दुई जहाज थप्ने योजना बनाएको छ। नयाँ जहाज थपिएसँगै बुद्ध एयरको विमान सङ्ख्या १८ पुगेको छ, जसमा हाल एक एटीआर-४२-३२०, १५ वटा एटीआर-७२-५०० र दुई वटा एटीआर-७२-६०० रहेका छन्। कम्पनीले हाल आन्तरिकतर्फ दैनिक १४० भन्दा बढी र अन्तर्राष्ट्रियतर्फ काठमाडौँबाट भारतका वाराणसी तथा कोलकातामा नियमित उडान भर्दै आएको छ।







