विचार र उद्देश्यप्रतिको आजीवन निष्ठा नै क्रान्तिकारीको पहिचान : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान अवस्थामा नेपाली कम्युनिस्ट आन्दोलनले धक्का खाएकाले पुष्पलाल र नरबहादुर कर्माचार्यजस्ता नेताहरूको योगदानबाट प्रेरणा लिएर आन्दोलनलाई पुनः जीवन्त बनाउन आवश्यक रहेको बताए।

उनले राष्ट्रिय स्वाधीनतामाथि देखिएको चुनौतीको सामना गर्न, निरङ्कुश प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्न र दृढ सङ्कल्पका साथ अघि बढ्न कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे ।

प्रचण्डले पुष्पलालका सहयोद्धाका रूपमा नरबहादुर कर्माचार्यले मजदुर आन्दोलन, वर्ग सङ्घर्ष र कम्युनिस्ट आन्दोलनलाई संगठित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनको योगदान नेपाली कम्युनिस्ट आन्दोलनका लागि प्रेरणादायी रहेको बताए।

उनले केही वर्ष मात्र सक्रिय हुनु वा त्याग गर्नु ठूलो कुरा नभएको उल्लेख गर्दै जीवनभर विचार, निष्ठा र उद्देश्यप्रति प्रतिबद्ध रहनु नै वास्तविक क्रान्तिकारीको विशेषता भएको धारणा राखे।

नरबहादुर कर्माचार्यले अन्तिम समयसम्म आफ्नो राजनीतिक आदर्श र क्रान्तिकारी मार्गमा अडिग रहेर उदाहरण प्रस्तुत गरेको प्रचण्डको भनाइ थियो।