प्रधानमन्त्री बालेनले सचिवालयबाट माधव खनाललाई हटाए

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा कार्यरत माधव खनाललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार करिब डेढ महिनाअघि भएको राहदानी (पासपोर्ट) प्रकरण, त्यसक्रममा देखिएको उनको भूमिका तथा त्यसयताका केही वैयक्तिक गतिविधिबारे गरिएको आन्तरिक समीक्षा पछि उनलाई सचिवालयबाट अलग गर्ने निष्कर्ष निकालिएको हो।

‘उहाँलाई टोलीमा निरन्तर राख्दा समस्या सिर्जना हुने र सचिवालयको समग्र छविमै असर पर्ने निष्कर्षमा हामी पुगेका थियौं,’ प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित एक स्रोतले भन्यो। ‘त्यसपछि उहाँलाई बोलाएर निर्णयबारे जानकारी गराउने र औपचारिक पत्रमार्फत जिम्मेवारीबाट अलग गर्ने सुझाव प्रधानमन्त्रीसमक्ष राखिएको थियो, जसमा उहाँ सहमत हुनुभएको हो।’

स्रोतका अनुसार खनाललाई जिम्मेवारीबाट अलग गरिएको जानकारी दिने पत्रसमेत तयार भइसकेको छ।

सिंहदरबार स्रोतले जनाएअनुसार, गत असार १ गते राहदानी विभागमा भएको पासपोर्ट प्रकरणका क्रममा खनालले विभागका अधिकारी तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग गरेको व्यवहारमाथि प्रश्न उठेको थियो। उक्त घटनामा उनी अत्यधिक आक्रामक र उग्र रूपमा प्रस्तुत भएको आरोप लागेको थियो।

प्रधानमन्त्री कार्यालयका अर्का एक स्रोतका अनुसार, उक्त घटनाअघि र त्यसपछिका केही गतिविधिबारे समेत सचिवालयमा उजुरी तथा गुनासोहरू पुगेका थिए।

‘पासपोर्ट प्रकरण मात्र होइन, उहाँको समग्र आचरणबारे पनि पटक–पटक प्रश्न उठेका थिए,’ स्रोतले भन्यो। ‘ती सबै पक्षको समीक्षा गरेपछि सचिवालयबाट अलग गर्ने निर्णय गरिएको हो।’