कर्फ्यु उल्लंघनपछि सुनसरीको देवानगञ्जमा सेना परिचालन

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।

कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि हतियारसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेको हो। सेनाको उपस्थितिपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आउन थालेको स्थानीय प्रशासनले जनाएको छ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार सुरक्षा निकायले क्षेत्रको अवस्था सामान्य बनाउने प्रयास गरिरहेको छ।

आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

यस घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। तर कर्फ्यु उल्लंघन गर्दै सोमबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन जारी रहेपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।