काठमाडौँ । सुनसरीमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनको माग गर्दै हिन्दूवादी समूहहरूले मंगलबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा उनीहरूले घटनामा संलग्नमाथि कडा कारबाही र निष्पक्ष अनुसन्धानको माग गरेका थिए। साथै, मुस्लिम समुदायलाई लक्षित गर्दै नाराबाजी पनि गरिएको थियो।
आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायका युवाबीच सामान्य विवाद चर्किँदै हिंसात्मक झडपमा परिणत भएको थियो। घटनामा एक जनाको मृत्यु भएको छ भने नौ जना गोली लागेर घाइते भएका छन्। सुरक्षाकर्मीसमेत घाइते भएको प्रहरीले जनाएको छ।
घटनापछि सुनसरीसहित सिरहा र मोरङका केही क्षेत्रमा तनावपूर्ण अवस्था कायम रहेको छ। सुरक्षा अवस्था सुदृढ बनाउन सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको जिम्मेवारी परिवर्तन गरेको छ।







