दाङ । दाङमा एक वर्षको अवधिमा विपद्बाट ६८ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार गत वर्ष साउनदेखि यसवर्षको असार मसान्तसम्ममा विभिन्न विपत्जन्य घटनामा परी ६८ जनाको मृत्यु भएको हो ।
जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले एक वर्षमा विपतजन्य घटनाबाट ठूलो धनजनको क्षति व्यहोर्नुपरेको बताउनुभयो ।
बितेको एक वर्षमा सबैभन्दा धेरै पानीमा डुबेर मृत्यु भएको छ । बितेको आर्थिक वर्षमा जिल्लामा ४३ जनाको पानीमा डुबेर मृत्यु भएको हो । यसैगरी जिल्लामा करेन्ट लागेर १२ जनाको मृत्यु भएको छ । चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ । तथ्यांकअनुसार जिल्लामा सर्पदंशबाट पनि सात जनाको मृतयु भएको छ ।
त्यस्तै आगलागीका घटनाबाट २ जनाको मृत्यु भएको छ । विपत्जन्य घटनाले मानवीय क्षतिमात्रै नभई गत वर्ष भौतिक संरचनामा समेत क्षति पुगी धनमाल नष्ट भएको पाइएको छ । तथ्यांकअनुसार बाढी र पहिरोबाट ५२ वटा संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयले विपत्जन्य घटना न्यूनीकरण गर्न केही नियमित प्रयास गरेको छ ।







