प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको संसदीय सुनुवाइ हुँदै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिले आ–आफ्ना कार्यसूचीमा छलफल गर्ने भएका हुन्।

संघीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ। बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्की विरुद्ध परेका उजुरीका उजुरीकर्तासँग छलफल गरिनेछ। त्यसपछि प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीलाई समितिसमक्ष उपस्थित गराई संसदीय सुनुवाइ गरिने कार्यक्रम छ।

यसअघि समितिले मंगलबार निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग संसदीय सुनुवाइ सम्पन्न गरेको थियो।

यता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनामाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।