काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी एकदिवसीय शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल युट्रेक्टमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। नेदरल्यान्ड्स यस शृङ्खलामा अहिलेसम्म अपराजित रहँदै तेस्रो खेल खेल्न लागेको हो भने नेपाल लगातार तीन हारपछि पहिलो जितको खोजीमा मैदान उत्रनेछ।
नेपालले पहिलो खेलमा नामिबियासँग पराजय बेहोरेको थियो। त्यसपछि दोस्रो खेलमा नेदरल्यान्ड्ससँग तथा तेस्रो खेलमा फेरि नामिबियासँग हार व्यहोरेपछि टोली दबाबमा परेको छ। लगातारको नतिजाले नेपालको लिग–२ मा शीर्ष चारभित्र रहँदै सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना निकै कमजोर बनेको छ।
हाल अंकतालिकामा नेपाल ३१ खेलबाट २४ अंकसहित छैटौं स्थानमा छ। नेदरल्यान्ड्स ३० खेलबाट ३६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ भने नामिबियाको ३१ खेलबाट २६ अंक छ।
आजको खेल नेपालका लागि ‘गर या मर’ को अवस्थामा छ। नेदरल्यान्ड्ससँग पराजित भए नेपालको शीर्ष चारमा रहने सम्भावना लगभग समाप्त हुनेछ।
नेपालको टोली: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र अर्जुन कुमाल।







