लागुऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा, कलैया–५ घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गा, मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी थान–६ बस्ने २४ वर्षीय दिपक राई पक्राउ परेका हुन् ।

उनीहरूले भारतबाट अवैध रूपमा लागुऔषध नेपाल ल्याई बेचबिखन गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट ट्रामाडोल लागुऔषध १ लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको हात्ती गाडी, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल ३ थान र नेपाली रूपैयाँ समेत बरामद भएको छ ।