काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रद्धाञ्जली अर्पण गरेका छन्।
बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर उनले श्रेष्ठको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
७९ वर्षको उमेरमा मंगलबार निधन भएका श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू सानेपा पुगिरहेका छन्।
यसैबीच, नेपाली कांग्रेसले श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ। बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा तीन दिनसम्म झण्डा आधा झुकाउने तथा विभिन्न शोक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।







