काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा एक स्थान सुधार गर्दै तेस्रो स्थानमा पुगेका छन्।
आईसीसीले मंगलबारसम्मको प्रदर्शनलाई आधार मानी बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार दीपेन्द्र चौथोबाट तेस्रो स्थानमा उक्लिएका हुन्। उनको रेटिङ अंक भने २५६ यथावत् रहेको छ।
नेपालले पछिल्लो समय कुनै पनि टी-२० अन्तर्राष्ट्रिय खेल नखेलेको भए पनि भारतका हार्दिक पाण्ड्याको वरियता घटेपछि दीपेन्द्र स्वतः एक स्थान माथि उक्लिएका हुन्। हार्दिकले पनि यस अवधिमा कुनै टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन्।
अलराउन्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा ३२० रेटिङ अंकसहित कायम छन् भने पाकिस्तानका सायम अयुब दोस्रो स्थानमा छन्। वेस्ट इन्डिजका रस्टन चेज चौथो स्थानमा उक्लिएका छन् भने हार्दिक पाण्ड्या पाँचौं स्थानमा झरेका छन्।







