फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहर व्यवस्थापनस्थलमा देखिएका चुनौती तथा त्यहाँका स्थानीय भोग्नुपरेका समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायसँग छलफल गर्नुभएको छ ।

सञ्चार मन्त्रालयमा आज आयोजित छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, महानगरको वातावरण विभाग प्रमुख सरिता राई, सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर रूपक आचार्य तथा ककनी गाउँपालिकाका स्थानीय प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । 

छलफलपछि सञ्चारमन्त्री तिमिल्सिनाले फोहर व्यवस्थापनमा प्रभावकारी अनुगमन, स्थानीयवासीका गुनासोको सुनुवाइ, सडक पूर्वाधार सुधार तथा वैज्ञानिक ढङ्गबाट फोहर व्यवस्थापन गर्न निर्देशन दिनुभयो । साथै फोहर व्यवस्थापनबारे स्थानीयले उठाउँदै आएका गुनासालाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो ।

स्थानीयवासीले बञ्चरेडाँडा फोहर बिसर्जन स्थलसम्म पुग्ने सडक अत्यन्तै जीर्ण रहेको, फोहरबाट दुर्गन्ध फैलिने, फोहर बोकेका सवारीसाधन नछोपेरै सञ्चालन गरिने, बीच बाटोमै फोहर खसाल्ने, फोहर विसर्जनपछि गाडी नधोई उपत्यकातर्फ फर्काइने तथा फोहरमाथि पर्याप्त मात्रामा माटोले छोप्ने (क्यापिङ) कार्यमा लापरबाही भइरहेको गुनासो गर्दै आएका छन् । सञ्चारमन्त्री तिमिल्सिनाले स्थानीयका यी गुनासा सम्बोधनका लागि सम्बन्धित निकायलाई बोलाएर छलफल गर्नुभएको हो ।

सञ्चारमन्त्री तिमिल्सिनाले बञ्चरेडाँडामा भइरहेको फोहर व्यवस्थापनको सम्बन्धमा सम्बन्धित निकायबाट नियमित तथा छड्के अनुगमन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीयवासीका गुनासो तत्काल सुनुवाइ हुने व्यवस्था मिलाउन निर्देशन दिनुहुँदै बञ्चरेडाँडा पुग्ने सडक जसरी पनि निर्माण गर्नुपर्ने बताउनुभयो ।

बैठकमा काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा भइरहेको फोहर व्यवस्थापनका कामबारे जानकारी गराएको थियो । विशेष गरी फोहर विसर्जनपछि आवश्यक समयमा माटोले ढाक्ने काम (क्यापिङ) भए–नभएको, दैनिक व्यवस्थापनको अवस्था, कर्मचारी परिचालन तथा सञ्चालन प्रक्रियाबारे छलफल भएको थियो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले बञ्चरेडाँडा ल्याण्डफिल साइटको दीर्घकालीन व्यवस्थापनका लागि फोहर सङ्कलन केन्द्रको सङ्ख्या बढाउने, फोहर वर्गीकरण र ग्रेडिङ प्रणालीलाई विस्तार गर्ने योजना अघि बढाइएको जानकारी दिनुभयो । 

हाल बञ्चरेडाँडामा पुग्ने फोहरमध्ये करिब ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने रहेको छ । स्रोतमै फोहर छुट्टाउने अभ्यास प्रभावकारी हुन नसक्दा वर्गीकरणमा समस्या देखिएको र त्यसले ल्याण्डफिल साइटमा थप समस्या सिर्जना गरेको महानगरपालिकाको भनाइ छ । 

नेपाल सरकारले एक हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरी निर्माण गरिएको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा २०७९ जेठ १० गतेदेखि फोहर विसर्जन सुरु गरिएको थियो । यो नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ को सीमाक्षेत्रमा अवस्थित छ ।

हाल बञ्चरेडाँडामा काठमाडौँ उपत्यकासहित २१ वटा स्थानीय तहबाट दैनिक औसत २०० ट्रक फोहर विसर्जन हुँदै आएको छ । बैठकले फोहर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन सबै स्थानीय तहको साझा जिम्मेवारी र समन्वय आवश्यक रहेकोसमेत निष्कर्ष निकालेको छ ।