काठमाडौं – सुर्खेतमा एक युवकलाई झारफुक तथा हेराई–मनाई गर्ने भन्दै महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार राति करिब ८ः३० बजे वीरेन्द्रनगर–३ एरिचोक घर भएका अन्दाजी २४ वर्षीय समीर थापालाई पक्राउ गरिएको हो । उनले आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउने गरेका थिए ।
एक महिलालाई झारफुक तथा हेराई–मनाई गर्ने भन्दै थापाले अपशब्द प्रयोग गर्नुका साथै कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले एक्सन लिएको थियो ।
उक्त घटनाबारे प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक दीपक मगराठीको कमाण्डमा नौ जनाको प्रहरी टोली खटिएको थियो ।
प्रहरी टोलीले समीर थापालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







