काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न सबैमा आग्रह गरेका छन्।
बिहीबार निर्मल निवासबाट जारी गरिएको सद्भाव सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यही विविधताले विश्वमा नेपालको छुट्टै पहिचान र सम्मान स्थापित गरेको बताएका छन्।
सन्देशमा भनिएको छ, ‘हामी नेपालीहरू नेपाल निर्माणको प्रारम्भदेखि नै परस्पर मिलेर, एकअर्काप्रति माया, सद्भाव र विश्वासका साथ जीवन बिताउँदै आएका जातजाति हौं। यही धार्मिक, सांस्कृतिक र सामाजिक सहिष्णुताले विश्वमा नेपालको सम्मान बढाएको छ। यो गौरवपूर्ण पहिचानलाई कुनै पनि हालतमा कमजोर हुन दिनु हुँदैन र यसमा कसैले खलल पुर्याउनु हुँदैन।’
पूर्वराजा ज्ञानेन्द्रले केही दिनअघि सुनसरीका विभिन्न गाउँबस्तीमा उत्पन्न आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी क्षेत्र र तराईका अन्य स्थानसम्म फैलिएको घटनाप्रति पनि दुःख व्यक्त गरेका छन्। साथै, उनले सबै पक्षलाई संयम अपनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र पारस्परिक विश्वासलाई थप बलियो बनाउन आह्वान गरेका छन्।







