कात्तिक १, काठमाडौं ।
जनता समाजवादी दलका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफूमाथि लगाएको आरोप निराधार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
उनले भट्टराईको बुढीगण्डकी जलविद्युत आयोजनामा तीन नेताले ९ अर्ब बाँडेर खाएको भन्ने दाबी निराधार भएको बताएका हुन् । भट्टराईले बुढीगण्डकीमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । शुक्रबार प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि भट्टराईको दाबीको खण्डन गरेका छन् ।
सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको, तर केही गैर जिम्मेवार तरिकाले बोलेर हिँडेको उनले बताए ।
भट्टराईको नाम नलिई उनले भने, ‘निर्णय नभएको, कार्यआरम्भ नभएको, हुन्छ या हुँदैन ? कसले गर्छ ? भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो । तर हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं ।’
जनतालाई गलत सूचना दिएर भड्काउने र गलत बाटोमा लैजाने काम गर्न नहुने उनको भनाइ थियो । भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलता सरकारको नीति भएको भन्दै प्रधानमन्त्रीले यसमा नेपाल प्रहरीले भूमिका खेल्ने बताए ।







