काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।
हाल कोशी, मधेस र बागमती प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ। तराई क्षेत्रमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ भने कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा समेत केही स्थानमा मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।
भारी वर्षाका कारण गेग्रानसहितको बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।







