१०० रुपैयाँको बिलबाट १० लाख जित्ने मौका, करदाता प्रोत्साहन कार्यक्रममा कसरी सहभागी हुने ?

काठमाडौं — सरकारले उपभोक्तालाई कर प्रणालीमा सहभागी गराउने उद्देश्यले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा अब न्यूनतम १०० रुपैयाँको सामान खरिद गर्नेले पनि १० लाख रुपैयाँसम्म जित्ने अवसर पाउने भएका छन्।१०० रुपैयाँको सामान किनेर कसरी १० लाख जित्ने ?
आज तपाईंहरू धेरैजसो आश्चर्यमा पर्नुभयो होला, २५० रुपैयाँको सामान किनेर १० लाख रुपैयाँ जित्न कसरी सम्भव भयो ? यति मात्र होइन, अरु थप १५ जना एक/एक लाखका विजेता बनेका छन् । सरकारी नीतिअनुसार अब १५/१५ दिन (पाक्षिक रूपमा)मा यसरी नै १ जनालाई १० लाख र १५ जनालाई एक/एक लाखका दरले कर प्रोत्साहन उपहार प्रदान गरिनेछ ।

पहिलो चरणमा १ साउन २०८३ देखि १५ साउन २०८३ मा सहभागी करदाताहरूलाई लक्की ड्रमार्फत १६ जना विजेता घोषणा गरिएकोमा अब १६ साउनदेखि ३१ साउनसम्मका सहभागीहरूलाई अर्को राउन्डमा उपहार प्रदान गरिने आन्तरिक राजस्व विभागले जनाएको छ ।

न्यूनतम १ सय रुपैयाँबराबरको सामान खरिद गर्नेले यस उपहार कार्यक्रममा सहभागी हुन पाउने र १० लाख रुपैयाँसम्म जित्न सकिने यो कार्यक्रम गजबकै छैन त ? अब तपाईं पनि यो उपहार योजनामा सजिलै सहभागी हुन सक्नुहुन्छ ।

करदाता प्रोत्साहन कार्यक्रममा कसरी सहभागी हुने ?

सर्वप्रथम तपाईंले सामान खरिद गर्दा बिक्रेतासँग अनिवार्य बिल लिनुपर्ने हुन्छ । प्यान वा भ्याट बिल तर सक्कल बिल भएमा तपाईं यो उपहार योजनामा भाग लिन योग्य हुनुहुन्छ । न्यूनतम एक सय रुपैयाँदेखि जति पनि मूल्यबराबरको कारोबारमा सक्कल बिल लिएपछि त्यसलाई आन्तरिक राजस्व विभागले उपलब्ध गराएको अनलाइन पोर्टलमार्फत अपलोड गर्न सकिन्छ ।

विभागको सरकारी पोर्टलमा अन्तिम भागमा ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ क्लिक सेसन उपलब्ध गराइएको छ । त्यसमा क्लिक गरेर बिल दर्ता विकल्पमा जान सकिन्छ । बिल भुक्तानी कसरी गरिएको हो, नगद कि विद्युतीय माध्यम (क्यूआर) सो छनोट गरेर तल उपलब्ध बिल नम्बर, बिक्रेताको प्यान नम्बर हालेर सोही लहरमा बिल काटिएको मिति र बिलबराबरको रकम उल्लेख गर्नुपर्छ ।

व्यक्तिगत विवरण उल्लेख गर्ने

यति गरिसकेपछि तल उपलब्ध भुक्तानीकर्ता विवरणमा खरिदकर्ता (बिलवाहक)को पूरा नाम भरेपछि आफ्नो मोबाइल नम्बर र ठेगाना राख्नुपर्छ । तर, यस्तो ठेगाना उल्लेख गर्दा ५ देखि बढीमा २५० अक्षरसम्म हुनुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ । यसरी सम्पूर्ण विवरण भरिसकेपछि अब सुरक्षा जाँच गरेर तल रातो बाकसमा उपलब्ध ‘पुरस्कार कुपन सिर्जना गर्नुहोस्’ ठाउँमा क्लिक गर्नुपर्छ । तपाईंले कुपन नम्बर पाउनुहुन्छ ।

यही कुपन नम्बर नै अब तपाईंलाई लखपति बनाउने भाग्य हो । सरकारले पाक्षिक रूपमा खोल्ने लक्की ड्रमा तपाईंको कुपन नम्बरलाई पनि प्रतिस्पर्धामा सहभागी गराउनेछ । सरकारले पहिलो १५ जनालाई एक/एक लाखका लागि लक्की ड्रमा सहभागी गराउनेछ भने सबै सहभागीलाई बम्पर (१० लाख रुपैयाँ) का लागि पुनः छनोट गर्नेछ ।

अनलाइन भुक्तानीका साधन प्रयोग गर्नेहरू भने स्वतः यो कार्यक्रममा सहभागी हुने विभागले जनाएको छ ।

न्यूनतम १०० रुपैयाँको सामान किनेर तपाईं पनि १० लाख रुपैयाँको विजेता बन्न सक्नुहुन्छ, जसरी आज पहिलोपटक खोलिएको लक्की ड्रमा शिवकृष्ण जनरल स्टोरबाट २५० को सामान किनेका कुपन नम्बर ००७३१५२५४४९३ ले १० लाख रुपैयाँ जिते ।

याद गर्नुहोस् तर उपहार दाबी गर्नका लागि भने तपाईंसँग सामान खरिद गरेको सक्कल बिल नै आवश्यक पर्छ ।

१० लाख रुपैयाँ जित्नेले कति पाउँछ नगद ?

सरकारका अनुसार नियमअनुसार उपहारमा २५ प्रतिशत करकट्टी हुनेछ । अर्थात् १० लाख रुपैयाँको उपहार जित्नेले करबापत २ लाख ५० हजार रुपैयाँ सरकारलाई बुझाउनुपर्नेछ । बाँकी ७ लाख ५० हजार रुपैयाँ विजेताले नगद पाउनेछ ।

आयकर ऐन, २०५८ अनुसार आकस्मिक लाभमा २५ प्रतिशत कर लाग्ने व्यवस्था छ । उपहार, पुरस्कारलगायतका लाभलाई आकस्मिक लाभको रूपमा व्याख्या गरेको सरकारले सोहीअनुसार आफैँले खोलेको उपहार योजनासमेत सो नियम लागू गर्ने भएको हो ।

तथापि, करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ अनुसार १ देखि १५ साउनसम्मका दैनिक विजेताहरूले जनही एक लाख ३३ हजार ३३४ प्राप्त गर्नेछन् ।