कात्तिक १, काठमाडौं ।
बैतडीको सुर्नया गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
गाउँपालिका केन्द्रको विषयमा भएको विवादमा अध्यक्ष बिष्टमाथि बुधबार ढुंगा प्रहार भएको थियो । घटनामा उनको टाउकोमा चोट लागेको थियो ।
‘गाउँपालिकाको मुकामको सामान्य बिषयलाई लिएर जनप्रतिनिधिमाथि गरेको कुटपिटको यो घटनामा संलग्न व्यक्तिहरूको तत्काल खोजी गरी कडाभन्दा कडा कानुनी कारवाही गर्न कांग्रेस सरकारसँग माग गर्दछ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिकामा लगाएको ताला खोल्न गएका बेला अध्यक्ष बिष्टमाथि ढुंगा प्रहार भएको थियो । गाउँपालिका केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीय बासिन्दाले गाउँपालिकामा तालाबन्दी गरेका थिए ।
यस घटनामा अध्यक्ष बिष्टसहित ५ जना प्रहरी पनि घाइते भएका थिए । उनीहरूको अवस्था सामान्य छ ।
यो गाउँपालिकाको केन्द्र पबितामा राख्ने गत वर्ष नै गाउँ कार्यपालिकाबाट निर्णय भए पनि कार्यान्वयनमा आएको छैन ।
यसबारे सर्वोच्चमा मुद्दा विचाराधीन रहेकोले अहिले केन्द्रबारे कुनै निर्णय गर्न नपाइने स्थानीय बासिन्दाको भनाइ छ ।







