अतिक्रमित सुदूरपश्चिम विश्वविद्यालयको जग्गा फिर्ता

कात्तिक १, कञ्चनपुर ।
सुदूरपश्चिम विश्वविद्यालयको भीमदत्त नगरपालिका १५ निम्बुखेडा स्थित अतिक्रमणको चपेटमा परेको जग्गा फिर्ता भएको छ । सुकुम्बासी भूमिहनि बस्दै आएको विश्वविद्यालयको जग्गा फिर्ता भएको हो ।

विश्व विद्यालयको जग्गामा डेढ दशक देखि बस्दै आएका ४२ परिवारले सात बिघा जग्गा फिर्ता गरेका छन् । विसं २०६९ सालमा तत्कालीन महेन्द्रनगर विकास समितिले विश्वविद्यालयलाई उक्त जग्गाको स्वामित्व दिएको थियो ।

वास्तविक सुकुम्बासीको लगत सङ्कलन गर्ने, बसोबासका लागि पहल गर्ने, वैकल्पीक व्यवस्थापनका लागि सम्बन्धीत निकायमा पहल गर्ने, जमिन भोगचलन गर्दै आएका मजदुरको आयआर्जनका लागि विभिन्न सीपमूलक, आयमूलक रोजगारीका कार्यक्रम सञ्चालन गर्ने लगायतका भीमदत्त नगरपालिका, विश्वविद्यालय र मजदुरबीच सहमती भएपछि जग्गा फिर्ता गराईएको हो ।

गहुँ खेतीका लागि विश्वविद्यालयको जग्गामा बस्दै आएका प्रति परिवारलाई सात हजार पाँच सय रूपैयाँ उपलव्ध गराउने सहमति समेत भएको छ । सुकुम्बासी अगुवा पार्वती दुलाले विश्वविद्यालयको जग्गामा बस्दै आएका परिवारको जीविकोपार्जन र बसोवासको व्यवस्था मिलाउने सहमतिपछि जग्गा छाडिएको बताइन् ।

विश्वविद्यालयको विकासका लागि सबैको सहयोग रहेको उनको भनाइ छ । ‘घरबार विहीन परिवारको उचित पुनःस्थापनाको कार्य समेत गरिनुपर्छ’, उनले भनिन् । (रासस)