कात्तिक १, काठमाडौं ।
कोभिड–१९ ले नेपाली व्यवसाय घाटामा गइरहेको बेला दुईपांग्रेको बिक्रि भने बढेको देखिएको छ । यस अवधिमा मोटरसाइकलको बिक्री उच्च भएको छ ।
यातायात व्यवस्था विभागको रेकर्डमा देखिएको नयाँ दर्ताको संख्याले यसको पुष्टि गर्छ । विभागको गुर्जुधारास्थित सवारी दर्ता कार्यालयले तयार पारेको पछिल्लो विवरण अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ सुरु भए यता हालसम्म पौने एक लाख नयाँ मोटरसाइकल दर्ता भएका छन् ।
विभिन्न कम्पनीका ७५ हजार एक सय ८० वटा नयाँ मोटरसाइकल दर्ता भएको तथ्यांकले देखाएको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामै भएको दर्ता गत वर्षका तुलनामा निकै उच्च हो ।
आर्थिक वर्ष २०७६÷७७ का १२ महिनामा दुई लाख २१ हजार थान नयाँ मोटरसाइकल दर्ता भएका थिए । विभागका अधिकारीहरूका अनुसार चालु वर्षको तीन महिनामै नयाँ मोटरसाइकलको दर्ता बितेका वर्षका तुलनामा उच्च देखिएको छ ।
नयाँ दर्ता हुनेमा १२५ सीसी र त्योभन्दा बढी क्षमताका बाइक र स्कुटरको संख्या धेरै छ । कोरोना संक्रमणबाट जोगिन सामाजिक दुरी कायम गर्नुपर्ने सतर्कतालाई ध्यानमा राख्दै मोटरसाइकल खरिदमा सर्वसाधारणको ध्यान जाँदा बिक्री बढेको हो ।
लकडाउन खुकुलो भएसँगै मोटरसाइकल बिक्रेता कम्पनीहरूले यो अवस्थाको आकलन गरिसकेका थिए । त्यसैले खरिद गर्न चाहनेका लागि बिभिन्न अफर ल्याएर लोभ्याएका पनि छन् । खरिदमा फाइनान्सिङको प्रक्रिया पनि सरल पारिएको छ ।
बन्दाबन्दी खुकुलो भएसँगै गत जुलाईदेखि सवारीसाधन बिक्रीले गति लिन सुरु गरेको टिभीएस, बजाज, हिरो, होन्डा र यामाहा लगायतका विभिन्न ब्राण्डका नेपालस्थित आधिकारिक बिक्रेता कम्पनीका प्रतिनिधिहरूले जनाएका छन् । कोभिड संक्रमण जोखिम न्यूनीकरणका लागि पछिल्लो चार महिनायता सर्वसाधारणले बाइक खरिदमा देखाएको चासोअनुसारका मोडल उपलब्ध गराउन पनि चाप परेको छ ।
बजारको मागलाई ध्यानमा राख्दै बजाज र टिभीएसले नेपालमै एसेम्बल प्लान्ट पनि राखिसकेका छन् । बजारमा उपस्थिति बलियो बनाउन हिरो, होन्डा र यामाहाले पनि आयात बढाएका छन् । नेपालमा रोयल इनफिल्डको बढ्दो बिक्रीलाई चुनौती दिँदै यसै साता अग्निले जावा बाइक भित्र्याएको छ ।
बन्दाबन्दीका कारण थलिएको व्यवसायलाई पुनः गति दिनका लागि कम्पनीले आकर्षक अफरहरू पनि सार्वजनिक गर्दै आएका छन् । यो वर्ष नाडा अटो शो नभए पनि ग्राहक सेवासँगै व्यवसायलाई गति दिनका लागि बिक्रेता कम्पनीले ’ब्याक टु ब्याक’ धमाकेदार अफर सार्वजनिक गर्दै आएका हुन् ।
यही अवधिमा केही नयाँ कम्पनीका बाइक पनि नेपाली बजारमा थपिएका छन् भने चलेका कम्पनीहरूले नयाँ मोडलको बिक्री थालेका छन् । जगदम्बा मोटर्स, हंसराज हुलासचन्द एण्ड कम्पनी, नेपाल जेनरल मार्केटिङ, स्याकार ट्रेडिङ लगायत बिक्रेता कम्पनीले ग्राहकको माग बढेसँगै यतिखेर धमाधम बाइक बिक्री भइरहेको जनाएका छन् ।
कतिपय कम्पनीले कोरोनाका कारण सप्लाइ चेनमै प्रभाव परेका कारण ग्राहकले अर्डर गरे बमोजिमको समयमा ढुवानी गर्न केही समय लाग्दै आएको जनाएका छन् । मोटरसाइकल खरिदमा देखिएको फाइदा रिकन्डिसन हाउसहरूले पनि राम्रैसँग उठाइरहेका छन् ।
गत साउनयता पुराना मोटरसाइकलको खरिदबिक्री पनि निकै बढेको छ । खरिदपछिको सर्भिसलाई पनि ध्यानमा राखेर प्रयोगकर्ताले मोटरसाइकल रोज्ने गरेका छन् ।
विभागका अनुसार नयाँ सवारीको दर्ता नियमित भए पनि धेरै भीड हुने र कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुँदा केही कार्यालयका काम भने प्रभावित बन्न पुगेका छन् ।
सवारी दर्ताको काम नियमित भए पनि लाइसेन्सको फारम लिने र परीक्षा गराउने काम भने विभागले हालका लागि स्थगित गरेको जनाएको छ ।







