पश्चिम तराईमा आज ‘वल्के’ र ‘गुरही’ पर्व मनाइँदै

कैलाली । सुदूरपश्चिम प्रदेशमा वल्के र गुरही पर्वको चहलपहल बढेको छ। भदौ सङ्क्रान्ति अर्थात् भदौ १ गते मनाइने वल्के पर्वलाई ‘कोसेली’ अर्थात् उपहार आदानप्रदान गर्ने पर्वका रूपमा लिइन्छ।

पर्वको तयारी आइतबारदेखि नै सुरु भएको थियो। घर–आँगन सरसफाइ गर्ने, लुगाफाटा धुने, विभिन्न परिकार तयार गर्ने तथा आवश्यक सामग्री किनमेल गर्ने काममा स्थानीय व्यस्त भएका थिए। पर्वका लागि अध्ययन तथा कामको सिलसिलामा घरबाहिर रहेका परिवारका सदस्यसमेत घर फर्किएका छन्।

वल्के पर्वका दिन बिहानै नुहाइधुवाइ गरी मान्यजन, इष्टमित्र तथा छरछिमेकीलाई दूध, दही, पिँडालुको कलिलो पात ‘गाभा’ र हरियो साग सगुनका रूपमा दिएर सम्मान गर्ने परम्परा छ। धनगढीका हीरालाल जोशीका अनुसार यस अवसरमा आशिर्वाद साटासाट गर्नुका साथै विवाहित छोरीलाई माइतीघरमा बोलाएर स्थानीय परिकार खुवाउने चलनसमेत रहेको छ।

गाउँघरमा गोरस, दूध, दही र मही बाँड्ने परम्परा रहे पनि पछिल्लो समय यो चलन घट्दै गएको स्थानीय बताउँछन्। पर्वका अवसरमा युवायुवती भेला भएर पिङ खेल्ने, देउडा खेल्ने तथा ठाडी भाका र लोकलयमा गीत गाउने गरेका छन्। तर, सहर बजारमा यस्ता मौलिक परम्परा विस्तारै लोप हुँदै गएको स्थानीय नवराज भट्टले बताए।

गुरही पर्वको तयारी

पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको गुरही पर्व पनि धनगढीमा धुमधामका साथ मनाउने तयारी गरिएको छ। सखी सञ्जाल कैलालीको आयोजना तथा थारु कल्याणकारिणी सभा धनगढी नगर समिति, थारु लेखक सङ्घ र थारु नागरिक समाजलगायत संस्थाको सहकार्यमा धनगढीस्थित गुरही चोकमा पर्व मनाउने तयारी गरिएको सखी सञ्जाल कैलालीकी अध्यक्ष सानु चौधरीले जानकारी दिइन्।

थारु समुदायको सांस्कृतिक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा २०६७ सालदेखि गुरही पर्वलाई संस्थागत रूपमा मनाउन थालिएको हो।

‘गुरही’ एक प्रकारको कीरा हो, जसलाई नेपालीमा ‘गाइनेकीरा’ भनिन्छ। गर्मीयाममा गाउँघरमा पाइने विभिन्न कीटाणु तथा लामखुट्टेलाई आहारा बनाएर वातावरण सफा राख्न यस कीराले सहयोग गर्ने जनविश्वास रहेको अध्यक्ष चौधरीले बताइन्।

गुरहीको प्रतीकका रूपमा बालबालिका तथा दिदीबहिनीले कपडाको गुडिया बनाएर गाउँको दक्षिणतर्फको चोकमा सेलाउने गर्छन्। त्यसपछि पुरुषहरूले लठ्ठीजस्तो ‘सोताले’ उक्त गुडियालाई पिट्दै गाउँबाट रोगव्याधि र नकारात्मक शक्ति हटोस् भन्ने कामना गर्ने परम्परा छ।

गुरही सेलाउने कार्यपछि त्यससँग ल्याइएका गेडागुडी तथा भुजा आपसमा बाँडेर खाने, खुवाउने, नाचगान गर्ने र रमाइलो गर्ने चलन छ। थारु समुदायमा नयाँ पर्वचक्रको सुरुवातका रूपमा लिइने गुरही पर्व रोगव्याधि तथा नकारात्मक शक्तिलाई गाउँ–समाजबाट हटाउने सांस्कृतिक विश्वाससँग जोडिएको छ।

परम्परागत रूपमा बालबालिकासँग बढी सम्बन्धित मानिए पनि पछिल्लो समय गुरही पर्वमा युवायुवतीदेखि सबै उमेर समूहका मानिसको सहभागिता बढ्दै गएको छ। पर्वको अवसरमा कैलालीका विभिन्न स्थानीय तहले भदौ १ गते सार्वजनिक बिदासमेत दिएका छन्।