मकवानपुर –मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५, क्याम्पाडाँडामा स्कुटरसहित पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। मंगलबार बिहान शव फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको हो।
हेटौंडा–५ स्थित माछा प्लान्ट नजिकै पानीमा शव देखिएपछि प्रहरीले निकालेर अनुसन्धान अघि बढाएको जनाएको छ। मृतक हेटौंडा उपमहानगरपालिका–६, चौघडामा बस्दै आएका बनेपा नगरपालिका–६, नालाका आवास रञ्जितकार रहेको खुलेको छ।
प्रारम्भिक अवस्था हेर्दा स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने स्थानीयले बताएका छन्। शवसँगै पानीमा डुबेको अवस्थामा नीलो रङको यामाहा रे–जेडआर स्कुटरसमेत फेला परेको प्रहरीले जनाएको छ।
घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।







