नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ । उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा भारतको कर्नाटक टोलीलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा सबै विकेट गुमाउँदै १८८ रन बनाएको थियो। १८९ रनको लक्ष्य पछ्याएको कर्नाटक नेपाली बलरहरूसामु निरीह देखियो र २८ ओभरमै ७२ रनमा अलआउट भयो।

कर्नाटकका लागि शरद श्रीनिवासले ६५ बलमा तीन चौकासहित अविजित ३२ रन बनाए। रेवन्थ बैरीले १० रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। कर्नाटकका चार ब्याटर शून्य रनमै पेभिलियन फर्किए।

नेपालका लागि करण केसीले पाँच ओभरमा नौ रन खर्चेर दुई विकेट लिए। ललित राजवंशीले चार ओभरमा एक मेडनसहित पाँच रन दिएर दुई विकेट हात पारे। शेर मल्लले ६ ओभरमा १७ रन खर्चेर दुई तथा बसिर अहमदले तीन ओभरमा ६ रन दिएर दुई विकेट लिए। हेमन्त धामी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको नेपालका लागि आसिफ शेखले सर्वाधिक ४९ रन बनाए। इशान पाण्डेले ३४, देव खनाल र सन्दीप जोराले समान २७ रन तथा बसिर अहमदले अविजित १९ रन जोडे। गुलशन झाले ११ रन बनाए।

कर्नाटकका क्रिती एम नेपालका ब्याटरमाथि प्रभावशाली देखिए। उनले आठ ओभरमा एक मेडनसहित २० रन खर्चेर पाँच विकेट लिए।