भूमिगत पहिरोले विद्यालय विस्थापित

कात्तिक २, म्याग्दी ।
जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा रहेको किसानी माविको भवन भत्किएपछि विद्यालय विस्थापित भएको छ ।

भूमिगत पहिरोका कारण विद्यालयका भवन भत्किएपछि पठनपाठन सञ्चालन र प्रशासनिक गतिविधि प्रभावित भएको छ । कोरोनाको जोखिमका कारण वैकल्पिक माध्यमबाट सिकाइ क्रियाकलाप सञ्चालन गरिएको थियो ।

भवन भत्किएपछि विद्यालयमा सिकाइ क्रियाकलाप सञ्चालन गर्न नसकिएको प्रधानअध्यापक धु्रवबहादुर भण्डारीले बताए । ‘भवनको समस्याले विद्यार्थीलाई चार समूह बनाएर टोलटोलमा शिक्षक पुगेर सिकाइ क्रियाकलाप सञ्चालन गरिएको छ’, उनले भने, ‘विद्यालय खुलीहाल्यो भने भवनमा पठनपाठन गर्न सक्ने अवस्था छैन ।’

गत असार अन्तिम हप्ताको भीषण वर्षाका कारण विद्यालय रहेको ढाडटोलमा जमिन धाँजा फाटेर चिराचिरा परेको थियो । भूमिगत पहिरोले जमिन विस्तारै चिराचिरा पर्ने र धाँजा फाट्ने क्रमसँगै भवन भत्किएको हो । विद्यालयमा भएका २० कोठे कक्षाकोठा भवन र छ शौचालयका भवन भत्किएका छन् ।

जमिनको सतह नमिलेपछि चिराचिरा परेर पर्खाल भत्किने, छानो खस्ने गरेको छ । कुनै पनि भवन बस्न योग्य छैनन् । ढाँडटोलका करिब ७५ घरधुरी पनि सो पहिरोका कारण जोखिममा परेका छन् । बाहिर नदेखिए पनि भित्रभित्रै जमिन बगेर बस्ती नै बस्नका लागि अयोग्य भएको स्थानीयको भनाइ छ ।

कक्षा १० सम्मको पठनपाठन हुने किसानी माविमा दुई सय २५ विद्यार्थी छन् । पुरानो ठाउँको भवन, खेलमैदान पहिरोले छियाछिया बनाएपछि धारापानीकै किमको बोट भन्ने ठाउँमा विद्यालय स्थानान्तरण र भवन पुनःनिर्माणका लागि जग्गा जुटाएको ब्यवस्थापन समितिका अध्यक्ष किरन थापाले बताए ।

चक्रबहादुर थापा र पूर्णबहादुर थापाले पाँच रोपनी जग्गा विद्यालयलाई निःशुल्क उपलब्ध गराएका छन् । मूल सडकदेखि जग्गामा पुग्ने ठाउँसम्म सहायक सडक पुर्याउन स्थानीय होमबहादुर थापा, रामबहादुर थापा, दानबहादुर थापा, प्रकाश पुर्जा, खिमदल थापा, सूर्य थापा, चन्द्रबहादुर थापा, अर्जुन थापा र राजन थापाले जग्गा दिने घोषणा गरिसकेका छन् ।

चार मिटर फकाकिलो बाटो बनाउन जग्गा दिएको उनीहरूको भनाइ छ । गाउँपालिकाले विद्यालय भवन स्थानान्तरण र पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको जनाएको छ ।

डिपिआरअनुसार भवन पुनःनिर्माणका लागि आर्थिक स्रोतको खोजी गरिएको उपाध्यक्ष रेशम छन्त्यालले बताए । (रासस)