नमूना आवासीय विद्यालयको छात्रावास निर्माण सुरु

कात्तिक २, म्याग्दी ।
समुदाय, स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र धवलागिरि गाउँपालिका–७ शिवाङमा नमूना आवासीय विद्यालय सञ्चालन गर्न छात्रावास भवन निर्माण शुरु भएको छ ।

भौगोलिकरूपमा विकट क्षेत्रका बालबालिकालाई विद्यालयमै खानेबस्ने सुविधासहित अध्ययनको व्यवस्था गराउन सामाजिक विकास मन्त्रालयको अवधारणाअनुसार आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो । अन्नपूर्णको शिख र धवलागिरिको हेम माविमा आवासीय विद्यालय सञ्चालनका लागि प्रदेश सरकार र पालिकाको साझेदारीमा छात्रावास भवन निर्माण शुरु भएको हो ।

दुईवटै विद्यालयमा गत वर्ष रु ६०÷६० लाख पठाएको सामाजिक विकास मन्त्रालयले यस वर्ष रु दुई÷दुई करोड विनियोजन गरेको छ । प्रदेश सरकारले पठाएको रु ६० लाख र गाउँपालिकाले विनियोजन गरेको रु ५० लाख गरी शिख माविको छात्रावास भवन बनाउन रु एक करोड १० लाखको ठेक्का आह्वान भएको थियो । रु ८१ लाख ४० हजार ९७१ मा गत जेठमा सम्झौता गरेको उत्तरगङ्गा निर्माण सेवाले दशकोठे भवनको ढलान गरिसकेको अन्नपूर्ण गाउँपालिकाका इञ्जीनियर ईश्वरबहादुर भण्डारीले बताए ।

गत हप्ता पालिकाका जनप्रतिनिधि, प्राविधिक र विद्यालयका प्रतिनिधिको रोहवरमा ठेकेदारले भवन ढलान गरेका थिए । नमूनाको रुपमा ढलानमा प्रयोग भएका सिमेन्ट, बालुवा र गिट्टीको गुणस्तरसमेत परीक्षण गर्न लागिएको इञ्जीनियर भण्डारीले बताए ।

हेम माविको १० कोठे छात्रावास भवन निर्माणका लागि रु एक करोड एक लाख ९० हजार ८८६ मा ठेक्का पाएको माछापुच्छ«े निर्माण सेवाले काम शुरु गरेको धवलागिरि गाउँपालिकाका इञ्जीनियर सोबिन जिसीले बताए । सो भवन निर्माणका लागि रु एक करोड २० लाख ७८ हजार ५२२ लागत अनुमान गरिएको थियो ।

छात्रावासमा अपायक पर्ने घर टाढा भएका विद्यार्थीलाई खानेबस्ने सुविधाको व्यवस्था हुनेछ । यस वर्ष प्रदेश सरकारले विनियोजन गरेको रु दुई करोड, गाउँपालिकाको रु ३० लाख र समुदायको रु ३० लाख बजेटमा आवासीय विद्यालयको थप पूर्वाधार निर्माणको तयारी भएको शिख माविका प्रअ केदार कार्कीले बताए ।

कक्षा १२ सम्मको पठनपाठन हुने शिख माविमा हाल १८९ विद्यार्थी छन् । आवासीय सुविधा भएपछि घर टाढा भएका विद्यार्थीलाई सुविधा पुग्नुका साथै कम विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई गाभ्न सकिने प्रअ कार्कीको भनाइ छ । (रासस)