रोयटर्स । इरानसँगको युद्धप्रति अमेरिकी जनताको समर्थन घटेर युद्ध सुरु भएयताकै न्यून स्तरमा पुगेको छ । यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता पनि रेकर्ड न्यून स्तरमा कायम रहेको रायटर्स/इप्सोस सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणअनुसार ३१ प्रतिशत अमेरिकीले मात्रै इरानविरुद्ध अमेरिकी सैन्य कारबाहीको समर्थन गरेका छन्। मार्चमा ३७ प्रतिशत र अगस्टको सुरुआतमा ३४ प्रतिशतले युद्धको समर्थन गरेका थिए।
युद्धको समर्थन गर्ने रिपब्लिकनको संख्या पनि घटेको छ। मार्चमा ७७ प्रतिशत रिपब्लिकनले युद्धको समर्थन गरेकोमा पछिल्लो सर्वेक्षणमा यो संख्या ६९ प्रतिशतमा झरेको छ।
यसैबीच, ट्रम्पको कार्यसम्पादनप्रतिको जनसमर्थन पनि न्यून रहेको छ। लगातार दोस्रो सर्वेक्षणमा ३३ प्रतिशत अमेरिकीले मात्रै ट्रम्पको कार्यसम्पादनलाई अनुमोदन गरेका छन्। यो ट्रम्पको पहिलो र दोस्रो कार्यकालका रायटर्स÷इप्सोस सर्वेक्षणमध्ये सबैभन्दा न्यून स्तर हो।
ट्रम्पले फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न युद्ध आवश्यक रहेको बताउँदै आएका छन्।
युद्ध पछिल्ला महिनामा केही मत्थर भए पनि इरानले क्षेत्रीय तेल निर्यातमा प्रभावकारी अवरोध कायम राखेको छ। यसका कारण अमेरिकामा पेट्रोलको मूल्य रेकर्ड नजिक पुगेको छ।
ट्रम्पले इरानमाथि आर्थिक दबाब थप बढाउने चेतावनी दिएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानसँग कारोबार गर्ने देशमाथि प्रतिबन्ध विस्तार गर्न सकिने बताएका छन्। यद्यपि, तत्काल कुनै नयाँ प्रतिबन्ध लगाइएको छैन।
सर्वेक्षणमा ८३ प्रतिशत अमेरिकीले इरानसँगको युद्ध लामो समयसम्म चल्ने बताएका छन्। अगस्टको सुरुवातमा यस्तो धारणा राख्नेको संख्या ८० प्रतिशत थियो।
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका क्रममा ट्रम्पले महँगी नियन्त्रण गर्ने र लामो सैन्य द्वन्द्वबाट अमेरिका टाढा राख्ने वाचा गरेका थिए। तर युद्ध सुरु भएको छ महिना पुग्दा अमेरिकी पेट्रोलको मूल्य युद्धअघिको तुलनामा प्रतिग्यालोन एक डलरभन्दा बढी बढेको छ।
यसले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा कंग्रेसको कमजोर बहुमत जोगाउनुपर्ने रिपब्लिकनमाथि दबाब बढाएको छ। सर्वेक्षणमा आजै कंग्रेसको निर्वाचन भए कसलाई मतदान गर्ने भन्ने प्रश्नमा स्वतन्त्र मतदातामध्ये ३३ प्रतिशतले डेमोक्र्याट र १९ प्रतिशतले रिपब्लिकनलाई मतदान गर्ने बताएका छन्।







