लकडाउन खुकुलो बनाउन सांसदहरुको सुझाव

२३ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले तत्काल लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसदहरुले लकडाउनको स्वतस्फुर्त रुपमा उलंघन हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जोखीमका क्षेत्र हेरेर तत्काल लकडाउनको मोडल परिवर्तन गर्न र जोखीम कम भएका क्षेत्रमा तत्काल लकडाउन खुकुलो बनाउन सुझाव दिएका हुन् ।

‘लकडाउनको अवधारणालाई तत्काल चेञ्ज गर्न जरुरी छ । लकडाउनको कारणले आर्थिक जनजीवन र रोजगारसँग जोडिएको क्षेत्र असाध्धै अप्ठ्यारोमा परेको अवस्था छ’ सांसद गोपी बहादुर सार्कीले भने ।

सांसदहरु जितेन्द्रनारायणदेव, भगवनी न्यौपाने लगायतले पनि निश्चित नियमहरु बनाएर लकडाउनको मोडालिटीमा परिवर्तन गरेर जानुपर्नेमा जोड दिए ।

क्वारेन्टाइन व्यवस्थित बनाइयोस्

यसैगरी, राष्ट्रियसभा सदस्यहरुले क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना परीक्षणलाई तिव्रता दिनुपर्नेमा उनीहरुको जोड छ ।

सांसद जितेन्द्र नारायण देवले स्वास्थ्य र आर्थिक महामारीको सामना गर्नका लागि सरकारले सबैलाई परिचालित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सांसद भगवती न्यौपानेले लकडाउनको अवधिमा उपचार नपाएर ५८ जना सुत्केरी र गर्भवती महिलाको ज्यान गएको सुन्नमा आएको भन्दै सो बारे सरकारको आधिकारीक जानकारी माग गरेकी छिन् ।

सुत्केरी र गर्भवति महिलाहरुको उपचारका लागि राष्ट्रिय आपतकालिन कोष निर्माण गर्न पनि उनको माग छ ।

राष्ट्रियसभा सदस्य हरिराम चौधरीले क्वारेन्टाइन र व्यवस्थित आइसोलेसन बेडको व्यवस्था गर्न माग गरे ।