काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६२६ जनाको शव फेला परेको छ भने २ हजार ४२६ जना अझै सम्पर्कविहीन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१ र चितवनमा २३३ जना रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १५ हजार २२४ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। हालसम्म विभिन्न स्थानबाट ४ हजार ४५१ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये १९१ जनालाई जलविद्युत आयोजनाका सुरुङबाट र ५१७ जनालाई हवाई माध्यमबाट उद्धार गरिएको छ। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरी ९९ वटा हवाई उडान गरिएको छ। यस क्रममा १२९ जना विदेशी नागरिकको समेत उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, रसुवाका ५६२, नुवाकोटका ११५, विभिन्न जलविद्युत आयोजनामा कार्यरत ९३३, मकवानपुरका ६५ तथा लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना रहेका छन्।
त्यस्तै, ५१७ जना विदेशी नागरिक र नेपाल भ्रमणमा रहेका विदेशमा बसोबास गर्ने १२७ जना नेपाली नागरिक पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कामसमेत अघि बढाइएको छ। हालसम्म ३७ ट्रक तथा हेलिकप्टरमार्फत ७ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ भने सञ्चार सेटसमेत वितरण गरिएको छ।
बाढीका कारण क्षतिग्रस्त १९८ वटा टेलिफोन टावरमध्ये मर्मतपछि १४५ वटा पुनः सञ्चालनमा आइसकेका छन्।








