स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड हिमतालको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको छ । जलवायु परिवर्तनका कारण तालको आकार बढ्दै जाँदा विगतमा देखिने पाँचवटा छुट्टाछुट्टै कुण्डसमेत अहिले एउटै तालजस्तो देखिन थालेका छन् ।

म्याग्दीका उद्धारकर्मी तथा पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा पञ्चकुण्डमा पाँचवटा साना ताल प्रष्ट देखेको स्मरण गर्नुभयो । “हिउँदका चार महिनाबाहेक अन्य समयमा पाँच कुण्ड देखिन्थे,” उहाँले भन्नुभयो, “अहिले भने पहिलेको जस्तो कुण्डहरू देखिन छाडेका छन् ।”

अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा रहेको पञ्चकुण्ड हिमताल अन्नपूर्ण र तिलिचो हिमालको हिउँ पग्लिएर जम्मा हुने पानीबाट बनेको प्राकृतिक ताल हो । पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको यस क्षेत्रमा जलवायु परिवर्तनको प्रभावसमेत देखिन थालेको स्थानीयको भनाइ छ ।

पर्यापर्यटनका अध्येता तथा अन्नपूर्ण–६ का घनश्याम खड्काका अनुसार तापक्रम वृद्धिसँगै हिमपहिरोको जोखिमले पञ्चकुण्डको स्वरूपमा परिवर्तन ल्याएको छ । उहाँका अनुसार एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को तथ्याङ्कअनुसार सन् २०१३ मा ०.०४१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड हिमताल सन् २०२५ सम्ममा ०.३८८ वर्गकिलोमिटर पुगेको छ । अर्थात् १२ वर्षको अवधिमा तालको क्षेत्रफल करिब ८४६ प्रतिशतले विस्तार भएको छ ।

पर्यटन व्यवसायी शेरचनका अनुसार विसं २०६४ मा तिलिचो तालबाट हिउँपहिरो खसेर जनधनको क्षति भएपछि चार हजार १९० मिटर उचाइमा रहेको हालको अन्नपूर्ण आधार शिविर प्रयोगमा ल्याइएको हो । त्यसअघि आरोही तथा भरियाहरू तालको किनारैकिनार हिँडेर आधार शिविर पुग्ने गर्थे ।

अभियन्ता तेज गुरुङका अनुसार विसं २०६७ मा नारच्याङका स्थानीयको अगुवाइमा अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग पहिचानका क्रममा पाँचवटा कुण्ड देखिएपछि यस स्थानको नाम ‘पञ्चकुण्ड’ राखिएको हो । शेर्पा समुदायले यसलाई ‘डिकिचो’ भन्ने गर्छन्, जसको अर्थ जमेको ताल हो ।

धार्मिक दृष्टिले पनि पञ्चकुण्डको विशेष महत्व रहेको स्थानीय बताउँछन् । हिन्दू धार्मिकग्रन्थमा यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण नामका पाँच छुट्टाछुट्टै ताल रहेको उल्लेख पाइन्छ । धार्मिक विश्वासअनुसार कागभुसुन्डी ऋषिले यहाँ तपस्या गरी ज्ञान प्राप्त गरेका थिए । पितृको सम्झनामा पिण्डदान गर्दा पुण्य प्राप्त हुने जनविश्वाससमेत रहेको छ ।

तालको धार्मिक महत्वलाई संरक्षण गर्ने उद्देश्यले परिसरमा शिव मन्दिर निर्माण गरिएको छ भने स्थानीयवासीले नजिकैको डाँडालाई ‘कागभुसुन्डी’ नामकरण गरेका छन् ।

विसं २०७७ देखि नारच्याङदेखि अन्नपूर्ण आधार शिविरसम्म सञ्चालनमा आएको ‘मौरिस हर्जोग’ पदमार्गमा पर्ने पञ्चकुण्डको मुख्य आकर्षण भनेको एउटै स्थानबाट हिमाल, आधार शिविर र हिमतालको दृश्यावलोकन गर्न सकिनु हो । तर, तालको बदलिँदो स्वरूपले यहाँको प्राकृतिक तथा पर्यटकीय महत्वसँगै जलवायु परिवर्तनको असरबारे पनि गम्भीर प्रश्न उठाएको छ।